विदेशबाट घर फर्किंंदा न घर, न सन्तान

काठमाण्डु टुडे २०७१ असोज १४ गते ३:२२ मा प्रकाशित

रसुवा, १४ असोज– घरबाट परदेश गएको एक महिनापछि फोनवार्ता हुँदा छोरीहरुले ‘ममी तपाईं छिट्टै घर आउनुस् है’ भनेको शब्द उनको मानसपटलमा अझै पनि ताजै छ ।
दुई छोरी, श्रीमान र एक छोरालाई घरमै छाडेर विदेश गएको तीन महिना नपुग्दै राम्चे गाउँ विकास समिति–१ कागुने गाउँकी सरिता तामाङ्ले कहिल्यै नसोचेको घटना बेहोर्न बाध्य भइन् ।

‘विदेश गएको तीन महिनामै सबै सन्तानलाई गुमाउनुपर्छ भन्ने थाहा भएको भए म विदेश नै जाने थिइन,’ सरिताले भनिन् ।’ वैदेशिक रोजगारीका लागि तीन महिनाअघि कुवेत पुगेकी थिइन्, सरिता ।

घरेलु कामदारको रुपमा त्याहाँ पुगेपछि राम्रोसँग काम गरिरहेकी पनि थिइन् । तर, गत १७ साउनमा आफ्नो घर सबै पहिरोले बगाएको खबर फेसबुकबाट थाहा पाएपछि सरिताले केही सोच्न सकिनन् ।

नेपालमा रहेका सबै आफन्तलाई उनले सोधीखोजी गरिन् तर सबैले फरकफरक जवाफ दिए । ‘अब घरमा भएको सन्तान कोही बाँकी छैनन् भनेर मैले उतै थाहा पाइसकेको थिएँ,’ सरिताले भनिन् ।
पहिरोले घर, सन्तान सबैलाई लगेपछि नेपाल आउन उनलाई लामो समय नै लाग्यो । २२ दिनपछि मात्रै उनी नेपाल आइपुगिन् ।

संयोग पनि कस्तो, जसको खुसीका लागि ठूलो सपना साँचेर धन कमाउनका लागि उनी विदेश गएकी थिइन्, फर्केर आउने दिन उनी सन्तानहरुको काजकिरिया (घेवामा) जानुपर्दा सरिता विक्षिप्त भएकी थिइन् । एयरपोर्टबाट सरितालाई सिधै तामाङ् संस्कृतिअनुसार छोराछोरीको घेवा भइरहेको ठाउँमा लगिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us