भुतलाई सर्प बनाएर मान्छे टोकाएको आरोपमा गाउँ निकाला

काठमाण्डु टुडे २०७१ असोज १४ गते २:२२ मा प्रकाशित

सिरहा, १४ असोज– सिरहा बेल्हा– २ का सर्जुग साहकी पत्नी चन्दनदेवी साहलाई गाउँलेले बोक्सी आरोपमा गाउँ निकाला गरेकाछन् । गाउँलेले घरमा आक्रमण गर्न गएपछि साह दम्पति प्रहरीको सहयोगमा सिरहा सदरमुकामस्थित आफन्तकोमा शरण लिएर बसेका छन् ।

गाउँलेहरुको घरमा आक्रमण गरेको समयमा साह दम्पति नभेटेपछि बुहारी रेणुदेवीलाई निर्घात कुटपिट गरेको गुनासो दम्पतिको छ । गाउँलेहरुको समूहले घरको ढोका फुटाएर आफूलाई कुटपिट गरेको रेणुदेवीले बताइन् ।

गाउँलेहरुको उत्तेजित भीडले घरमा भएका विभिन्न सामग्रीसमेत तोडफोड गरेको उनले गुनासो पोखिन् । साहको तीन बुहारी र उनीहरुको बच्चा मात्रै घरमा रहेका छन् । उनीहरु गाउँलेले कुन बेला आएर आक्रमण गर्ला भन्ने डरले त्रसित छन् ।

रेणुदेवीले गाउँलेको आक्रमणको डरले रातभरि जाग्राम बस्ने गरेको र दिउँसो पनि घरबाट बाहिर ननिस्किने गरेको बताइन् ।

साहको परिवारलाई अहिले गाउँलेहरुले सामाजिक रुपमा समेत बहिष्कार गरेको छ । उनको घरमा जानेआउने र केही ल्याउन–लानेसमेत रोक लगएको छ । घटना भएको दिनदेखि गाउँका उनीहरुको घरमा कोही पनि नआएको रेणुदेवीले सुनाइन् ।

बेल्हा–५ का तपेश्वर मुखियाका १४ वर्षीय छोरा राजु मुखियालाई सर्पले टोकेर मृत्यु भएपछि परिवारजन तथा गाउँलेले चन्दनदेवीले भूतलाई सर्प बनाएर टोक्न लगाएको आरोप लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us