जुवामा चेकबाटै कारोबार

काठमाण्डु टुडे २०७१ असोज १४ गते २:१८ मा प्रकाशित

काठमाण्डु, १४ असोज– पेसेवर जुवाडेले नगदभन्दा चेकमार्फत हारजितको हिसाबकिताब गर्न थालेका छन् ।
प्रहरीले आइतबार साँझ छापा हानेका चाबहिल र पुतलीसडकका जुवा अखडाबाट लाखौंका चेक बरामद भएका छन् । दुवै जुवाको खालबाट प्रहरीले १७ जुवाडेलाई पक्राउ गरेको छ ।

पुतलीसडकको जुवा अड्डाबाट धेरै पैसा बरामद हुने प्रहरीको अनुमान थियो । तर, दुई लाख १८ हजार रुपैयाँ मात्र बरामद भएको छ । जुवाडे पैसाको गड्डीभन्दा चेकबुक नै लिएर जुवा खेल्न बसेको भेटिएको प्रहरीले जनाएको छ ।
पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्सको अगाडि एक घरमा महाशाखाका प्रहरीले छापा हानी ११ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवीन पाण्डे, सरोज श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ, राजेश केसी, सैलेश पौडेल, कान्छा तामाङ छन् ।
त्यस्तै चाबहिलको पशुपति क्याम्पसनजिकैबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । खालबाट दुई लाख ८२ हजार रुपैयाँ नगद र तीन लाख रुपैयाँको चेक बरामद भएको हो ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us