राजमार्गका १६५ होटलमध्ये १५ मात्र खान योग्य

काठमाण्डु टुडे २०७१ असोज १४ गते १:४६ मा प्रकाशित

काठमाण्डु, १४ असोज– राजमार्गका होटल वा रेस्टुरेन्टमा खाना खाने योजना बनाउनुभएको छ भने पहिला त्यहाँ हरियो वृत्ताकार टाँसिएको छ कि छैन, हेर्नुहोला । यस्तो स्टिकर नटाँसिएको होटल र रेष्टुरेन्टमा खाना खाँदा ठगिने मात्र होइन, बिरामी पनि पर्न सक्नुहुनेछ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजमार्गका होटल तथा रेस्टुरेन्टमा स्थलगत अनुगमन गरी खानयोग्यमा हरियो वृत्ताकार स्टिकर टाँस्न थालेको छ । विभागका प्रवक्ता प्रमोद कोइरालाका अनुसार खानयोग्य होटल चिन्न सजिलो होस् भनेर हरियो वृत्ताकार स्टिकर टाँसिएको हो ।

विभागले अनुगमन गरेका राजमार्गका मलेखुदेखि नवलपरासीसम्मका एक सय ६५ होटलमध्ये १५ वटाले मात्र यस्तो स्टिकर पाएको उनले बताए । ‘बढी मूल्य असुलेर पनि होटल तथा रेस्टुरेन्टले सामान्य स्वस्थकर खाना उपलब्ध नगराएको फेला परेको छ,’ कोइरालाले भने,‘ अधिकांशको अवस्था तल्लो स्तरको भेटेका छौं ।

खाना ठसठस गन्हाएको पनि पाइयो । भान्छाघरमै ढलको पानी वगेको र कीटाणु हिँडिरहेको अवस्था प्रायः होटलमा भेटियो ।’ विभागले होटल तथा रेष्टुरेन्लाई खानाको गुणस्तरको आधारमा चार वर्गमा विभाजन गरेको छ ।

उत्तमलाई ‘क’ वर्गमा राखेर हरियो वृत्ताकार स्टिकर प्रदान गरिएको छ । विभागले उपभोक्तलाई हरियो स्टिकर टाँसेको होटलमा मात्र खान आग्रह गरेको छ । उसले हरियो स्टिकर नपाएको खाना अस्वस्थकर भएको जनाएको छ ।

यसैगरी विभागले केही होटल तथा रेष्टुरेन्टमा सुधार आवश्यक भएको भन्दै ‘ख’ वर्ग (मध्यम स्तर) मा राखेको छ । यस्ता होटलमा पहेँलो वृत्ताकारमा एउटा रातो धर्का भएको स्टिकर टाँसिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us