गुण्डागर्दी गर्दै हिँड्ने युवा सङ्घका केन्द्रीय सदस्यविरुद्ध मुद्दा

काठमाण्डु टुडे २०७१ असोज १३ गते ११:२२ मा प्रकाशित
खोटाङ, १३ असाेज –  गुण्डागर्दी गर्दै हिँड्ने युवा सङ्घका केन्द्रीय सदस्यविरुद्ध चार  मुद्दा दर्ता भएको छ।
खोटाङको दोर्पाचिउरी डाँडा–५ घर भएका युवा सङ्घ नेपालका केन्द्रीय सदस्य दिलचक्र भनिने दिलकुमार राईविरुद्ध चार वटा मुद्दा दर्ता भएको हो।
उनले एकै दिन गत भदौ १७ गते फरकफरक ठाउँमा चारजनालाई गालीगलौज तथा कुटपिट गरेका थिए।
कुटपिटमा संलग्न ऊलगायत अन्य पाँचजनाविरुद्ध फरकफरक व्यक्तिले दिएको चार वटा सार्वजनिक मुद्दा दर्ता गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो।
सापकोटाले भने, ‘उजुरी पर्नासाथ फरार रहेकाहरुविरुद्ध हद म्याद पुर्जी जारी गरिएको छ।’
दिलचक्रलगायतका व्यक्तिले बिनाकारण आफूलाई गालीगलौज गर्दै निर्घात कुटपिट गरेको भन्दै नेर्पा–८ का धनप्रसाद बाँस्तोला, बाँझेच्यानडाँडा–१ घर भएका सडक विभागका सव–इन्जिनियर प्रदीप राई, भोजपुरका डम्बरबहादुर विश्वकर्मा र नेर्पा–८ का दिलबहादुर विश्वकर्माले आफ्नो ज्यान सुरक्षा तथा घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै उजुरी दिएका थिए ।
भदौ २५ गते परेको धनप्रसाद बाँस्तोलाको जाहेरीले दिलकुमार राई, जोशीचन्द्र राई, नवीन गुरुङ, भीमबहादुर गुरुङ र रामबहादुर गुरुङ, असोज ७ गते परेको प्रदीप राईको जाहेरीले दिलकुमार राई र मोतिराज राई, असोज ६ गते परेको डम्बरबहादुर विश्वकर्माको जाहेरीले दिलकुमार राई, भीमबहादुर राई र रामबहादुर राई तथा असोज ७ गते परेको दिलबहादुर विश्वकर्माको जाहेरीले दिलकुमार राई, भीमबहादुर गुरुङ र रामबहादुर गुरुङविरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको जिल्ला प्रशासन कार्यालय मुद्दा शाखाका नायब सुब्बा लीलाबहादुर विश्वकर्माले जानकारी दिए।
उनले भने, ‘पीडितहरुले दिएका सबै मुद्दामा दिलकुमार राईलाई नै मुख्य दोषी मानिएको छ।’
उनको हमलाबाट गम्भीर घाइते बनेका सव–इन्जिनियर राईसहित चारैजनाको जिल्ला अस्पताल खोटाङमा उपचार गरिएको पारिवारिक स्रोतले जनाएको छ।
दिलकुमारलगायत उनका साथीहरुले बाटोमा भेटेजतिलाई कुट्दै हिँडेको प्रहरीले जनाएको छ। पछिल्लो समय ठेक्कापट्टाको काम गर्दै आएका उनले दिक्तेलबाट घरतर्फ जाने क्रममा उनीहरुलाई फरकफरक ठाउँमा कुटपिट गरेका थिए।
एमाले जिल्ला कमिटी सदस्यसमेत रहेका राईले यसअघि पनि एक कार्यालय प्रमुखलाई आफ्नै गेष्ट हाउसमा लगेर निर्घात कुटपिट गरेका थिए।
योजनाको काम नगरी निकासा माग्दा नदिएपछि पूर्वाञ्चल सव–डिभिजन कार्यालय खोटाङका प्रमुख एकराज भट्टराईलाई आफ्नै गेष्ट हाउसमा लगेर निर्घात कुटपिट गरेका हुन्।
कुटपिटमा संलग्न ऊलगायत अन्य दुईजनालाई प्रहरीले पक्राउ गरे पनि एमाले नेताहरुको दबाबमा छाडिएको थियो।
एमालेका तत्कालीन जिल्ला अध्यक्ष विशाल भट्टराई, अञ्चल कमिटी सदस्य पिके राईलगायतको दबाबमा तत्कालीन प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले निर्घात कुटिइएका कार्यालय प्रमुख भट्टराईलाई उल्टै माफी मगाएका थिए।
यसरी राजनीतिक संरक्षणमा बस्दै आएका राई हाल काठमाडौँमा रहेको स्रोतको दाबी छ। विभिन्न घटनामा संलग्न हुँदै आएका राई नेताहरुकै संरक्षणका कारण काठमाडौँमा खुलेआम हिँडिरहेका छन्।
ऊनीविरुद्ध मुद्दा परेपछि प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई अन्यत्र सरुवा गर्न माग गर्दै गृहमन्त्रालयमा एक टोलीसमेत गएको स्रोतको दाबी छ।
स्रोतका अनुसार प्रशासनमा सार्वजनिक मुद्दा दर्ता भएलगत्तै भागेर काठमाडौँ पुगेका दिलकुमारलाई संरक्षण गर्न सभासद् विशाल भट्टराईको नेतृत्वमा गृहमन्त्रीसमक्ष उक्त टोली गएको हो।
यता, प्रमुख जिल्ला अधिकारी सापकोटाले गुण्डागर्दी नियन्त्रण गर्न अभियान नै चलाएका छन् । उनी भन्छन्, ‘जिल्लामा कि गुण्डा रहन्न, कि प्रहरी रहन्न।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us