प्रस्तावित प्रधानन्यायाधीशकाे सुनुवाई मंगलबार
काठमाण्डु टुडे
२०७१ असोज १३ गते ८:०७ मा प्रकाशित
काठमाण्डु, १३ असाेज – प्रधानन्यायाधीशका लागि प्रस्तावित सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साहको सुनुवाई मंगलबार हुने भएकाे छ ।
संसदीय सुनुवाई समितिले सोमबार विहान उनविरुद्ध उजुरी गर्नेहरुसंग उजुरीबारे थप सोधपुछ गरेको छ। नेपाल मदनी मस्जिद मोसाफिर खाना का सचिव रमातुल्लाह मियाँले समितिमा साहलाई प्रधानन्यायाधीश बनाउन नहुने जिकिर गरे।

उनीले साहले सार्वजनिक सम्पत्तिलाई व्यक्तिको नाममा हुने गरि फैसला गरेको आरोप लगाएका छन्।
मियाँले साहको मुस्लीमप्रतिको नियत राम्रो नभएको बताए।यस्तो अनियमितता गर्ने लाई प्रधानन्यायाधीश बनाउन नहुँने बताएका थिए।
‘सिरियस विषय हो छानविन गरेर मात्रै निर्णय गर्नुहोला’ उनले भने।
सुन्धारास्थित धरहरा देखि पश्चिमतर्फको जमिनका बारे परेको मुद्दामा साहले गरेको फैसला पक्षपातपूर्ण भएको आरोप लगाएर दुई छुट्टा छुट्टै उजुरी गरेका थिए।
उनीहरुले मुसलमान समुदायले भोगचलन गर्र्दै आएको कित्ता नं.५२को छ आना एक दाम दुई पैसाको उक्त सरकारी जग्गा व्यक्तिको नाममा हुने गरी साह सहितको बेन्चले फैसला गरेको आरोप लागाएका छन।
उनीहरुको सोधपुछ पछि न्यायाधीश साहको सुनुवाईका बारे समितिमा सत्तारुढ दलका सदस्यहरुबीच नै मतान्तर भएको थियो।
सभापति कुलबहादुर गुरुङले सोमबारै १ बजे न्यायाधीश साहलाई बोलाएर सुनुवाई गर्ने भनेका थिए। तर कांग्रेसका चिनकाजि श्रेष्ठ, प्रकाश शरण महत, एमालेका राजेन्द्र पाण्डेले उजुरी कर्ताको आरोप र थप कागजात आउन बाँकी रहेकोले दशैँ पछि सुनुवाई गर्नुपर्ने धारणा राखेका थिए। तर बालकृष्ण खाँडलगायतले भने दशैँ अघि नै सुनुवाई सक्नुपर्ने बताएका थिए।
यहि विवाद बीच सभापति गुरुङले मंगलबार विहान ८ बजे न्यायाधीश साहको सुनुवाई राखेका हुन्।