काठमाण्डु, १३ असोज – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधान निर्माण प्रक्रियामा एमाओवादीले अड्को थापेको आरोप लगाएका छन् ।
नेकपा एमाले बाराले दसैंको अवसरमा औराहामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता नेपालले एमाओवादीले संविधान निर्माणमा अप्ठेरो पारेर संविधानसभामाथि नै प्रश्न चिन्ह उठ्ने वातावरण बनाउन लागेको बताए ।
जनताले नपत्याएर तेस्रो स्थानमा हुत्याइदिएको पार्टीले राष्ट्रिय राजनीतिको नेतृत्व गर्छु भन्नु हास्यास्पद रहेको भन्दै नेपालले जनताको म्यान्डेट अनुसार काम गर्नुपर्ने बताए । उनले आफ्नो हैसियत अनुसारको काम गर्न माओवादीलाई आग्रह गरेका छन् ।
दलहरु संविधान निर्माणमा जुट्नुपर्ने बताउँदै नेता नेपालले जसरी पनि माघ ८ मा संविधान जारी गरिछोड्नुपर्ने बताए ।