काठमाण्डु, १३ असोज–एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुस्थितिका कारण आज बस्ने भनिएको तीन दल बैठक बस्न सकेन ।
प्रतिपक्षीले जारी राखेको संसदको अवरोध हटाउन र संविधानका विवादित विषयमा सहमति खोज्न कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठक बस्ने भनिएको थियो ।
पूर्वनिर्धारित समयमै बिहान ८ बजे सबै शीर्ष नेता सिंहदरबार पुगे । एमाले अध्यक्ष केपी ओली भने बैठक सुरु भएलगत्तै झापा जानु छ भन्दै हिंडे । उपाध्यक्ष विद्या भण्डारी र भीम रावल बैठकको जिम्मा लगाएर ओली हिंडेपछि बैठक बस्न नसकेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।
उनका अनुसार पर्सी बुधबार मात्र काठमाण्डु फर्कने भन्दै ओली गृह जिल्ला झापा हिंडेका हुन् । ‘बैठक सुरु हुनेबित्तिकै ओलीजी हिंड्नुभयो’, काठमाण्डु टुडेसँग श्रेष्ठले भने, ‘सत्ता पक्षका नेताहरुको व्यवहारले उहाँहरु संविधान निर्माण र संसदको अवरोध हटाउना गम्भीर हुनुहुन्न भन्ने देखियो ।’
ओली झापा हिंडेपछि स्थगित भएको तीन दल बैठक पुन: बुधबारका लागि बोलाइएको छ । संविधानसभाअन्तर्गतको राजनीतिक सम्वाद तथा सहमति समितिले संविधानका विवादित विषयमा सहमति जुटाउन पाएको समयसीमा भोलि सकिंदैछ ।