नन्दप्रसादले दुई अर्ब मागेका थिए: गृहमन्त्री

काठमाण्डु टुडे २०७१ असोज १३ गते १:५९ मा प्रकाशित

काठमाण्डु, १३ असोज– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गोरखाका नन्दप्रसाद अधिकारीले अनशन तोड्न सरकारसँग दुई अर्ब रुपैयाँ मागेको दाबी गरेका छन् ।

bamdev
संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको छलफलमा आइतबार गृहमन्त्री गौतमले अधिकारी दम्पतीलाई अनसन तोडाउने प्रयास गर्दा उनीहरुले सरकारले दुई अर्ब क्षतिपूर्ति दिए मात्र अनसन तोड्ने बताएको जानकारी दिएका हुन् ।

नन्दप्रसाद जीवितै छँदा यसबारे केही नबताएका गौतमले उनको मृत्युको एक सातापछि यस्तो दाबी गरेका हुन् ।   ‘यो सरकारले धान्न सक्ने रकम थिएन । दुई अर्ब दिन नसकेकै कारण नन्दप्रसादको ज्यान गयो, उनले भने, सरकारले निरन्तर न्याय दिलाउने प्रयास गर्दा पनि उहाँहरुले अटेर गरेर अनशन बसिरहेकाले यत्रो दु:खद घटना हुनपुग्यो ।’

अधिकारी दम्पतीलाई न्याय दिलाउन सरकारले सक्दो प्रयास गरिरहँदा पनि नन्दप्रसादको ज्यान जोगाउन नसकिएको बताउँदै गंगामायाको जीवन रक्षाका लागि प्रयास गरिरहेको उनले जानकारी दिए । गृहमन्त्री गौतमले संसदीय समितिलाई यस घटनाबारे विस्तृत जानकारी गराएका थिए ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us