काठमाण्डु, १२ असोज– एमाओवादी नेता एवम् संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले चमत्कार भए मात्र संविधानका
विवादमा दलीय सहमति हुने बताएका छन् ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा उनले आफू सहमति प्रयास गर्दागर्दै थाकेको बताए । बैठकमा सभासदहरुले थपिएको दुई साताको समय त्यत्तिकै खेर फालेको भन्दै आपत्ति जनाएपछि भट्टराईको त्यस्तो भनाइ आएको हो ।
‘दलहरुबीच सहमतिको प्रयास गर्दा गर्दै थाकें’, भट्टराईले भने, ‘ठूलै चमत्कार भएको खण्डमा मात्र संविधनका विवादित विषयमा सहमति हुने दुखेको छु ।’
उनले प्रमुख दलका शीर्ष नेता संविधान निर्माणमा गम्भीर नरहेको आरोपसमेत लगाए । यसअघि संविधानसभामा आफूले बोल्दा गरेको संकेत सही सावित भएको भन्दै उनले नेपालका दलहरुमा स्वतन्त्र निर्णय गर्ने क्षमता नरहेको उल्लेख गरे ।
भट्टराईले दलहरुको यस्तै चालाले ८ माघमा संविधान जारी हुने सम्भावना नरहेको प्रष्ट पारे । यद्यपि, अन्तिमसम्म सहमति प्रयास जारी राख्ने उनले बताए ।
‘सास छउन्जेल आस हुन्छन् भन्छन्’, भोलिसम्म अन्तिम प्रयास गर्छु, तपाइंहरु पनि नेताहरुलाई सहमतिका लागि दबाब दिनुस् ।’ संविधानसभाले समितिलाई सहमति निर्माणका लागि दिएको समयसीमा भोलि मंगलबार सकिंदैछ ।