अमेरिकामा प्रधानमन्त्रीले भने, ‘संविधान जलाएर के हुन्छ ?’

काठमाण्डु टुडे २०७१ असोज १२ गते १३:०२ मा प्रकाशित

न्यूयोर्क– प्रधानमन्त्री सुशील कोइरालाले शान्ति, स्थायित्व, लोकतान्त्रिक संविधान र विकासका पक्षमा बन्दै गरेको वातावरण नबिगार्न आग्रह गरेका छन् ।

pm in newyorkराष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका पुगेका कोइरालाले न्यूयोर्कको क्विन्समा त्यहाँ रहेका नेपालीसँगको अन्तरक्रियामा उनले संविधान जलाउने धम्की नदिन आग्रह गरे ।

उत्तेजक व्यवहार र अभिव्यक्ति बन्द गर्न पनि उनको आग्रह थियो । ‘संविधान जलाएर के हुन्छ ?’ कोइरालाले भने, ‘उत्तेजित कुरा गरेर बन्दै गरेको वातावरण नबिगारौं ।’

कोइरालाले मुलुकले द्वन्द्व र विध्वंस थेग्न नसक्ने भन्दै त्यस्तो धम्की नदिन पनि भने । नेपाल तलबारको धारमा रहेको चर्चा गर्दै उनले धम्कीका भरमा नेपाल नबन्ने र जनताको अधिकार पनि सुरक्षित नहुने प्रष्ट्याए ।
नेपालमा पानी बगेको र डलर उडिरहेको भन्दै उनले त्यसको सदुपयोग गर्न नसकिएको बताए । कोइरालाले दलीय सहमतिमा ८ माघमै संविधान जारी गर्नुको विकल्प नरहेको दाहोर्‍याए ।

उनले संविधान बन्दैन कि भन्ने फजुल आशंकामा नडुब्न र आफूलाई विश्वास गर्न पनि आग्रह गरे । ‘डलर उडिरहेको छ, पानी बगिरहेको छ, हामी गरिबीले थिचिएका छौं’, कोइरालाले भने, नकारात्मक कुरा छाडौं, प्राकृतिक श्रोतको सदुपयोग गरौं ।’

कोइरालाले कृषि, पर्यटन र जलविद्युतमा लगानी गर्न विदेशमा रहेका नेपालीलाई अपिल गरे । सरकार लगानीको सुरक्षाका लागि तत्पर रहेको भनाइ उनको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us