काठमाण्डु, १२ असोज– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले तत्काल संसद् बैठक सुचारु गराउन सरकार र दलहरुको ध्यानाकर्षण गराएका छन् ।
चार बुँदे सहमति कार्यान्वयनको माग गर्दै एमाओवादीसहित विपक्षीले १२ औं पटकसम्म संसद् बैठक अवरुद्ध गरेपछि आइतबार उनले सोमबारबाट संसदको अवरोध हटाउन ध्यानाकर्षण गराएका हुन् । नेम्वाङले प्रमुख दलहरुबीच गत ९ पुसमा भएको चार बुँदे सहमतिबारे आफू र संसदलाई केही जानकारी नभएको जिकिर गरे ।
विपक्षीले संसदमा अवरोध गरेपछि मात्र त्यसबारे चाल पाएको उनले बताए । ‘चार बुँदे सहमतिबारे संसदलाई जानकारी थिएन’, नेम्वाङले भने, ‘एकैपटक चार बुँदे कार्यान्वयनको माग राखेर विपक्षीले संसद अवरुद्ध गरेपछि मात्र थापा पाइयो ।’
नेम्वाङले संसदमा जारी लगातारको अवरोधले विनियोजन विधेयकमाथिको छलफल प्रभावित भएको बताए । लगातार संसद बैठक अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको उनको भनाइ थियो । व्यवस्थापिका–संसद बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।