हाम्रो सहमतिबिना जारी गरिएको संविधान जलाउँछौं: विष्ट

काठमाण्डु टुडे २०७१ असोज ११ गते ८:०९ मा प्रकाशित

दाङ, ११ असोज– एमाओवादी स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगरले आफूहरुको सहमतिविपरीत संविधान जारी गरे जलाउने चेतावनी दिएका छन् ।

lokendra_bista
रिपोर्टर्स क्लब दाङले शनिबार तुलसीपुरमा गरेको साक्षात्कारमा विष्टले एमाओवादीसहित परिवर्तन पक्षधर दलहरुको सहमतिबिना काँग्रेस एमालेले आफ्नो दस्तावेजलाई नै संविधानका रुपमा जारी गर्न खोजे त्यसलाई तत्काल खारेज गरेर जलाउने चेतावनी दिएका हुन् ।
संविधान कुनै दल विशेषको नभई सम्पूर्ण जनताले अपनत्व महसुस गर्ने विशेषतासहितको हुनु पर्ने उनको भनाइ थियो । विष्टले कांग्रेस–एमालेसहित सत्तारुढ दलले प्रतिपक्षमा रहेका दललाई बाइबास गरेर जंगबहादुरको शैली देखाए मुलुक विद्रोहको बाटोमा जाने चेतावनी दिए ।

‘परिवर्तन पक्षधरलाई बाइपास गरेर काँग्रेस–एमालेले आफ्नो पार्टीका दस्तावेजलाई संविधानका रुपमा जारी गरे जलाउँछौं’, विष्टले भने, ‘सरकारमा रहेका पार्टीहरुले जंगबहादुर शैली देखाए भने मुलुक जनविद्रोहको बाटोमा जान्छ ।’

उनले एकतर्फी रुपमा संविधान जारी गरेर मुलुकलाई मुठभेडमा लैजान मनस्थिति त्याग्न काँग्रेस–एमालेलाई आग्रह गरे । अर्को एक फरक प्रसंगमा विष्टले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग पार्टी एकताबारे छलफल भइरहेको बताए ।

दुई पार्टीबीच शीर्ष नेतृत्व तहमा निरन्तर छलफल भइरहेको भन्दै उनले एकताको आधार बलियो बन्दै गएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us