कोरियामा फेरि लुके थप दुई खेलाडी

काठमाण्डु टुडे २०७१ असोज १० गते २:०९ मा प्रकाशित

काठमाण्डु, १० असोज– दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा भाग लिन गएका थप दुई खेलाडी पनि बेपत्ता भएका छन् ।
यसअघि बुधबार सेपाकताको खेलाडी अमन पोडे भिजेल छाडेर भागेका थिए ।
बिहीबार उसुका निराजन आलेमगर र सोमवीर तामाङ पनि भागेको पत्ता लागेको छ । टिम व्यवस्थापकको मिलेमतोमै खेलाडीहरु भगाइएको आशंका गरिएको छ । नीराजनले उसुअन्तर्गत छाङ छवान र सोमवीरले ६५ केजी तौल समूहमा प्रतिष्पर्धा गरेका थिए ।

उसुबाट नेपालले पदकको आशा गरेका थिए । इन्चोनमा रहेका नेपाली खेल पत्रकारहरुका अनुसार सोमवीरले ७ असोज र निराजनले ८ असोजको बेलुका भिलेज छाडेका थिए ।

तर टिम व्यवस्थापक चन्द्र तामाङले बिहीबार बिहान मात्रै नेपाली टोलीका ‘सेभ दी मिसन’ छिमी उर्केन गुरुङलाई खेलाडी सम्पर्कबिहीन भएको जानकारी गराएका थिए, त्यो पनि सोधपुछ गरेपछि ।

नेपाल फर्कन लागेको टोलीलाई बिदाई गर्न गएका गुरुङले नीराजन र सोमवीरलाई नदेखेपछि सोधखोज गरेका थिए । यसैबीच, एसीयाडमा दुई कास्यपदक जितेका तेक्वान्दो खेलाडी दीपक विष्टले कोरियामा नेपाली खेलाडीले देशको बेइज्जत गरेको बताए ।

‘राष्ट्रको नाम उच्च पार्न गएका खेलाडी भागेका समाचार आउँदा हामीलाई नै लाज लाग्छ’ विष्टले भने । विष्टले राष्ट्रको माया गर्ने खेलाडी नलुक्ने समेत बताए ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us