काठमाण्डु, ९ असोज– एकीकृत माआवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सीके राउतलाई पक्रेर अनावश्यक हिरो बनाएको टिप्पणी गरेका छन् ।

पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बिहीबार आयोजित कार्यक्रममा उनले सरकार आफैंले मुलुक विघटनको माग गर्नेलाई पक्रेर हिरो बनाएको भन्दै आपत्ति जनाएका हुन् ।
प्रचण्डले गणतान्त्रिक व्यवस्थामा राजतन्त्र पुनस्र्थापनाको कुरा गर्नेलाई समेत छुट दिइएको भन्दै मधेसबारे बोलेकै आधारमा राउतलाई पक्राउ गरिनु गल्ती भएको बताए ।
अघिल्लो संविधानभामा समेत आत्मनिर्णयको अधिकार पाउनुपर्ने आवाज उठेको भन्दै उनले अर्को एक फरक प्रसंगमा उनले शान्तिपूर्ण माग राख्नेलाई पक्रनु गलत भएको टिप्पणी गरे ।
मधेसलाई नेपालबाट अलग गर्ने अभियान चलाएका राउतलाई प्रहरीले मोरङको रंगेलीबाट गत साता पक्राउ गरेको थियो । उनलाई महाानगरीय प्रहरी परिसर काठमाण्डुको हिरासतमा राखिएको छ ।
सर्वोच्च अदालतले राउतलाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै बुधबार थप थुनामा राखेर अनुुसन्धान गर्न आदेश दिएको थियो ।
यसैबीच प्रचण्डले राजतन्त्र पुनस्र्थापनाको माग राखेर हतियार उठाइए कसैलाई छाड्न नहुने बताए ।