
काठमाण्डु, ४ असोज– उर्जामन्त्री राधा ज्ञवालीले माथिल्लो कर्णाली विकास परियोजनामा भारतीय कम्पनी जीएमआरसँग भएको पिडिएले नेपालको विकासको ढोका खोल्ने दाबी गरेकी छन् ।
रिपोर्टर्स क्लबले शनिबार राजधानीमा गरेको साक्षात्कारमा मन्त्री ज्ञावलीले माथिल्लो कर्णाली विद्युत परियोजनामा भारतीय कम्पनी जीएमआरसँग भएको सम्झौता नेपालको हितमै भएको प्रष्ट पार्दै यो सम्झौताले देश विकासको ढोका खोल्ने विश्वास व्यक्त गरिन् ।
मन्त्री ज्ञावलीले माथिल्लो कर्णाली परियोजना अन्तर्गत पीडिएमा हस्ताक्षर भएसँगै नेपालको उद्योग धन्दा, कलकारखाना सुचारु गर्न मद्यत पुग्ने प्रष्ट पारिन् ।
‘हामीले पिटिए र पिडिए दुवैमा हस्ताक्षर गरेसँगै धेरैवटा परियोजनाहरुको ढोका खुलेको छ’, ज्ञवालीले भनिन्, ‘बाहिर प्रति मेगावाट १६ करोडको लागत भनेर हल्ला चलाइएको छ तर हामीले अहिले सम्झौता गर्दा प्रतिमेगावाट जम्मा १२ करोड मात्रै लागत लाग्ने भनेको छ, यो बढेर केही माथि पुग्ला तर विरोध गरेझैं १६ करोड चाही होइन ।’
सम्झौतामा प्रतिपक्षी र संविधानसभाबाहिर रहेका दलले भनेजस्तो राष्ट्रलाई अहित हुने प्रावधान नरहेको उनको दाबी थियो । मन्त्री ज्ञवालीले ३३५ मेगावाट क्षमताकाे किमाथान्का विद्युत परियोजनालाई पनि अगाडि बढाउने जानकारी दिइन् । त्यस्तै विश्व बैंकको सहयोगमा रोल्पाको माडी र ताप्लेजुङको महिमा परियोजनाबारे पनि अध्ययन भइरहेको जानकारी दिइन् ।
त्यस्तै नेपाली काँग्रेसका नेता एवम पूर्व उर्जामन्त्री डा। प्रकाशशरण महतले भारतीय कम्पनी जीएमआरसँग माथिल्लो कर्णालीमा भएको पिडिए स्वागत योग्य रहेको बताए ।
महतले पीडिए भएसँगै अन्तर्राष्ट्रिय लगानीको वातावरण सिर्जना भएको बताउँदै नेपालमा वैदेशिक लगानीलाई वृद्धि गर्न सके विकास सम्भव हुने धारणा राखे । ‘आजको विश्वमा अन्तर्राष्ट्रिय सम्बन्ध नै व्यापार तथा लगानीले निर्धारण गरेको छ’, महतको प्रश्न थियो, ‘हामीकहाँ मात्रै किन यसको चर्को विरोध हुन्छ ?’
माथिल्लो कर्णाली विद्युत परियोजनाको पीडिएमा हस्ताक्षर भए सँगै नेपालमा ठूलो लगानीको ढोका खुलेको दाबी उनले गरे ।