
एजेन्सी– फिल्म खेलेबापत् कुल आम्दानीको एकतिहाइ दाबी गर्न थालेका बलिउड अभिनेता आमिर खान डेरामा बस्छन् भन्ने समाचार धेरैका लागि अपत्यारिलो लाग्न सक्छ ।
तर,यो सत्य हो । आमिर केही महिनायता डेरामा बस्दै आइरहेका छन् । आफ्नो घर नभएर उनी डेरामा बसेका भने होइनन् । सानदार अभिनय गर्नुपर्छ भन्ने मान्यता राख्ने आमिर बसाइ पनि उत्तिकै सानदार होस् भन्ने चाहना राख्छन् । तर आफ्नो घर त्यति सानदार नलागेपछि उनी डेरामा बस्न थालेका हुन् ।
समुन्द्रछेउमा समुद्रपट्टि बरन्डा फर्किएको घरमा बस्ने रहर आमिरलाई पहिलेदेखि नै थियो । आफ्नो घरमा बसेर उनी यस्तो इच्छा पूरा गर्न सक्दैनथे, किनकी उनको घर समुन्द्रछेउ छैन । त्यसैले मुम्बईको सागर तटको एउटा घरको दुईवटा तला बहालमा लिएर आमिर सपरिवार बसिरहेका छन् ।
‘आमिरले मुम्बईको कार्टर रोडमा रहेको फ्रिडा वन बिल्डिङमा डेरा लिएर बसेका छन् । उनी बसेको घरको बरन्डा समुन्द्रपट्टि फर्किएको छ । जहाँबाट समुन्द्रको दृश्य भव्य देखिन्छ,’समाचारमा भनिएको छ । आमिरले आफ्नो टेलिभिजन च्यानल ‘सत्यमेव जयते’ को विज्ञापन सोही घरमा छायांकन गरेका थिए ।
नयाँ पत्रिकाबाट