मेरो पैसा चोर्नेलाई त पाप लाग्छ:सुशील

काठमाण्डु टुडे २०७१ भदौ २३ गते ३:१९ मा प्रकाशित

तपाईंको निवासबाटै १२ लाख रुपैयाँ चोरिएको खबर मिडियामा आयो । यो घटनालाई कसरी लिनुभएको छ ?
आइ एम तोतल्ली सक्द । यो विषयमा हामी कम्प्रिहेन्सिभ इन्भेस्तिगेसन गर्दै छौँ ।

पैसा चोरिएको विषयमा ?
होइन, समाचार कसरी मिदियामा पुग्यो भन्ने विषयमा ।

तपाईंलाई त संसारकै गरिब प्रधानमन्त्री भनिन्छ । सम्पत्ति विवरणमा तीन थान मोबाइल मात्रै टिपाउनुभएको थियो । यत्रो १२–१२ लाख नगद कहाँबाट आयो ?
मैले अमेरिकामा क्यान्सरको उपचार गराउँदा बल्लतल्ल उब्रेको पैसामध्ये १२ लाख रुपैयाँ दराजमा उ गरेको थिएँ । त्यही पैसा हो । त्यस्तो पैसा चोर्नेलाई त पाप लाग्छ ।

तपाईंको उपचारको सम्पूर्ण खर्च त सरकारले बेहोरेको थियो । तपाईंजस्तो त्यागी नेताले त उब्रेको पैसा सरकारलाई फिर्ता गर्नुपर्ने होइन ?
सरकार भनेको को हो ? मै होइन ? आइ एम हेद अफ दि गभरमेन्त । आफैँ सरकार प्रमुख भएकाले मैले उब्रेको पैसा आफैँलाई फिर्ता गरेँ ।

अनि, त्यत्रो सेक्युरिटीका बीच पैसाचाहिँ कसरी चोरियो ?
यसरी चोरी भो भनेर देखाउन फेरि दराज फोद्नु ? यस्तो ननसेन्स ऊ नगर्नुस् !

अच्छा, त्यो पैसाले के गर्ने योजना थियो तपाईंको ?
मोबाइल किन्ने । मेरो थरीथरीका मोबाइल कलेक्सन गर्ने सोख छ । कुनै दिन मोबाइल एक्जिविसन अर्गनाइज गर्छु भनेर हो ।

भनेपछि अब तपाईंको योजना त पूरा नहुने भो, होइन ?
पूरा हुन्छ । किन हुँदैन ?

पैसा त चोरी भयो, कसरी गर्नुहुन्छ ?
चोरी भएर केही हुँदैन ? हामी नेताको पैसा चोरी भयो भने राज्यले भर्पाइ गर्छ । अस्ति भर्खर केपीजीको मिसेजले पैसा हराउँदा सरकारले ऊ गरेको होइन ?

साँच्चि, चोरी भएको कुरा सुरुमा कसरी थाहा पाउनुभयो ?
के चोरी भएको ?

पैसा ।
कस्को पैसा ?

तपाईंको १२ लाख चोरी भएको होइन ?
चोरी भएको हो भन्दै छु त । कतिचोति सोध्नुहुन्छ एउतै कुरा †

तपाईंको पैसा कसले चोर्‍यो होला त ? कसैमाथि शंका छ ?
मलाई मोदीजीमाथि शंका छ ।

त्यत्रो ठूलो देशका प्रधानमन्त्रीमाथि कसरी शंका गर्नुभयो ? केही आधार त होला नि ?
मोदीजीको नेपाल भिजितका बेला मैले एउटा कुरा नोतिस गरेको थिएँ । उहाँको कोतको माथिल्लो खल्ती निकै मोतो देखिएको थियो ।

त्यसो शंका भए तत्कालै प्रहरीमा गएर किटानी जाहेरी किन दिनुभएन त ?
जाहेरी दिन गएको थिएँ । तर, प्रहरीले लिनै मानेन । माथिको आदेश छैन भनेर फर्काइदियो ।

त्यस्तो प्रहरीलाई त कारबाही गर्नुपथ्र्यो नि । गृहमन्त्रीलाई भनेर कारबाही गर्न लगाउनुभएन ?
मैले गृहमन्त्रीजीलाई रिक्वेस्त गरेको थिएँ । तर, उहाँले माथिको आदेश छैन भनेर उ गर्नुभो ।

प्रधानमन्त्रीलाई नै अटेरी गर्ने गृहमन्त्रीलाई किन अझै क्याबिनेटमा राखिरहनुभएको छ ? बर्खास्त गर्न सक्नुहुन्न ?
सक्दिनँ । माथिको आदेश छैन ।

(काल्पनिक अन्तर्वार्ता) pm-koirala/ नयाँ पत्रिबाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us