
काठमाण्डु, २० भदौ– सार्वजनिक सवारी साधन चलाउन अब कम्तिमा एसएलसी पास हुनुपर्ने भएको छ ।
यातायात मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको नियमावलीमा सार्वजनिक सवारीको चालक बन्न अनिवार्य एसएलसी पास भएको हुनुपर्ने उल्लेख छ ।
अटो पत्रकार समाजले शुक्रबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले नियमावाली जस्ताको तस्तै पारित भए शिक्षित व्यक्तिले मात्र सार्वजनिक सवारी चलाउने अनुमति पाउने बताए ।
अन्य सवारी चलाउने चालकभन्दा सार्वजनिक सवारी यातायातको चालक दक्ष हुनुपर्ने उनको भनाइ थियो । सिटौलाका अनुसार नियमावलीमा सार्वजनिक सवारी चलाउन ६५ वर्ष ननाघेको र दुई वर्ष अन्य सवारी चलाएको हुनुपर्ने नियमावलीमा प्रस्ताव गरिएको छ ।