माघ ८ गतेभित्र संविधान कुनै पनि हालतमा : नेम्बाङ

काठमाण्डु टुडे २०७१ भदौ २० गते १२:०८ मा प्रकाशित

काठमाण्डु, २० भदौ – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले आगामी माघ ८ गतेभित्र संविधान जारी गर्ने तयारी भइरहेको बताएका छन् ।

subash nembangनिजामती सेवा दिवस–२०७१ को अवसरमा नेपाल राष्ट्रसेवक कर्मचारी सङ्गठनद्वारा आयोजित सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा उनले पहिलो संविधानसभाले ८० प्रतिशत काम सकिसकेको र बाँकी २० प्रतिशत कामका लागि संवैधानिक– राजनीतिक संवाद तथा सहमति समिति क्रियाशील भई लागिरहेकाले  माघ ८ मा संविधान जारी हुने सम्भावना बढ्दै गएको बताए ।

उनले भने  “संविधान जारी गर्ने समय चार वर्षको भए पनि संविधानसभा र दलहरुले एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरेको अवस्थामा भोलि अर्थात् यही भदौ २१ गतेभित्रमा विवादित विषयमा दलहरुबीच  सहमति गर्न तीव्र प्रयास भइरहेको छ ।”

अध्यक्ष नेम्बाङले संवाद तथा सहमति समितिले माघ ८ मा संविधान जारी गर्न संविधानसभा बाहिर रहेका असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन पहल गरिरहेको बताए ।

दल र दलका नेताले माघ ८ भित्रमा संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरे पनि ढुक्क भएर बस्ने अवस्था नरहेको बताउँदै  सकारात्मक दबाबका लागि नागरिक समाज, बौद्धिक वर्गलगायत सर्वसाधारणसँग आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us