खाद्यान्नको मूल्यमा उच्च वृद्धि, सरकार रमिते

काठमाण्डु टुडे २०७१ भदौ ७ गते २:५९ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– व्यापारीले एक महिनाको अवधिमै एक बोरा चामलमा डेढ सय रुपैयाँसम्म मूल्य बढाएका छन् ।
khadhyanna२५ किलो चामलको बोरामा साढे १२ प्रतिशतसम्म मूल्य बढेको छ । चामल मात्र होइन, दाल, गेडागुडी र आलुको मूल्य पनि उपभोक्ताको ढाड सेक्ने गरी बढाइएको छ । तर सरकार रमिते छ ।
व्यापारीहरूले चाडपर्व नजिकिँदै गर्दा आफूखुसी मूल्य वृद्धि गरेर चामल, दाल, गेडागुडी, पिठोलगायत अत्यावश्यक खाद्यवस्तुको अधिकतम मूल्य कायम गर्ने सरकारी निर्णयको खिल्ली उडाएका छन् ।
साउन पहिलो सातासम्म एक हजार दुईसय रुपैयाँमा पाइने २५ किलो सोना मन्सुली चामलको अहिले उपभोक्ता मूल्य एक हजार तीनसय ५० छ । एक हजार तीन सय ७५ मा पाइने सोही परिमाणको मन्सुली चामलको मूल्य एक हजार पाँच सय पुर्‍याएको छ । यस्तै साउन पहिलो सातासम्म एक हजार पाँच सय ५० मा पाइने २५ किलो जिरा मन्सुली चामलमा एक सय रुपैयाँ मूल्य बढेको छ ।
व्यापारीहरूले बजारमा धेरै खपत हुने खाद्यपर्दाथको मूल्य आफूखुसी बढाएका हुन् । चामलमा जिरा मसिनो, मन्सुली, सोना मन्सुली, दालमा रहर, मसुरो, केराउ तथा आलुको मूल्य एकै महिनामा १२ प्रतिशतसम्म बढाइएको छ । तर अनुगमन र कारबाही गर्ने सरकारी निकाय मौन बस्दा उपभोक्ता मारमा छन् ।
नेपाल खुद्रा व्यापार संघका महासचिव राजकुमार श्रेष्ठ ठूला व्यापारीले बढी मूल्य बढाएर उपभोग्य वस्तु उपलब्ध गराएकाले खुद्रा व्यापारीले पनि सोहीअनुसार बाध्य भएर उपभोक्तासँग बढी मूल्य लिनुपरेको बताउँछन् । ‘उपभोक्ताबाट साना व्यापारीले बढी मुनाफा लिएकै छैनन्’, श्रेष्ठले भने, ‘हामी आफैं सोझै उत्पादन स्थलबाट ल्याउँदैनौ । थोक व्यापारीले भन्सार शुल्क बढेको तथा बाटो अवरुद्ध भएको भन्दै बढी मूल्य लिएर हामीलाई उपभोग्य वस्तु उपलब्ध गराएका छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us