बञ्चरोले हानेर श्रीमती मार्नेले गरे आत्महत्या

काठमाण्डु टुडे २०७१ भदौ ३ गते ९:२३ मा प्रकाशित

धनगढी, ३ भदाै – धनगढी नगरपलिका वडा नं १ पशुपति टोलका एक व्यक्तिले पत्नीको हत्यापछि आफूले पनि आत्महत्या गरेका छन् ।

 अठ्तीस वर्षीय राकेश चौधरीले आफ्नै घरको कोठमा ३५ वर्षीया पत्नी रति चौधरीको बञ्चरो प्रहार गरी हत्या गरेपछि आफूले पनि कोठामै आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुई/तीन दिनअघि भएको आशङ्का गरिएको घटना ढिलो गरी आजमात्रै थाहा भएको घटनास्थल पुग्नु भएका प्रहरी सहायक निरीक्षक हरिसिं धामीले बताए । एकान्त ठाउँमा घर भएको र उनीहरुको छरछिमेकसँग सम्पर्क पनि कम हुने गरेको कारण घटना ढिलो गरी थाहा भएको धामीले बताए ।

अलग्गै घरमा बस्दै आएका मृतक चौधरीका बुबाले छोरा बुहारीको खोजतलास गर्ने क्रममा झ्यालबाट हेर्दा दुवै कोठामा मृत देखेपछि प्रहरीलाई आज बिहान खबर गरेका थिए । चौधरी दम्पतीबीच मदिरा सेवन गरी यसअघि पटकपटक झैझगडा हुने गरेको छरछिमेकीलाई उद्धृत गर्दै धामीले बताए ।

मृतक राकेश ब्लड क्यान्सरका रोगीसमेत रहेको बताइएको छ । प्रहरीले दुवैको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढीमा पुर्याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us