काठमाण्डु, ३ भदौ – रसुवाका स्थानीयवासिन्दाले अनिश्चितकालीन यातायात बन्द गर्ने चेतावनी दिएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रसुवाली जनताले चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध संचालक कुलमान घिसिङलाई हटाउने निर्णय गृहमन्त्री र उर्जामन्त्रीले ठाडो हस्तक्षेप गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए आगामी भदौ ६ गतेबाट अनिश्चितकालिन रसुवा बन्द गर्ने चेतावनी दिएका हुन् ।
उनीहरुले चिलिमे राष्ट्रकै नमूना हाईड्रो पावरका रुपमा परिचित भएकाले यसको छवीलाई धुमिल्याउने जो कोहीका विरुद्धमा पनि रसुवाली जनताहरु लड्ने उद्घोष गर्दै आफूहरु कम्पनीको छवीलाई बचाउन लागिपरेको बताए ।
उनीहरुले रसुवाली जनताहरुले शान्तिपूर्ण आन्दोलन गरिरहेको वेला आन्दोलनकारीहरुलाई जबरजस्ती प्रहरी हिरासतमा लिने काम गरेर जनताको विरुद्धमा गृहमन्त्री नै खनिएको आरोप लगाएका छन् ।
सवै पार्टीको सहभागीता रहेको संयुक्त पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका जिल्ला सभापति ल्हामा कार्पु तामाङ्ले चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध संचालक कुलमान घिसिङलाई हटाउने निर्णयका विरुद्ध आफूहरु आन्दोलनमा उत्रिरहेको वेला राज्यले जनतालाई आतंकित बनाएर मुठभेड सिर्जना गरेको बताएका छन् ।
उनले भने–हामी सवै राजनीतिक दलको सहभागीतामा शान्तिपूर्ण रुपमा आन्दोलन भैैरहेको वेला उर्जामन्त्रालय, चिलिमे जलविद्युत कम्पनी र त्यससंग जोडिएका दलाल एवं कमिशन एजेन्टहरुले शान्तिपूर्ण आन्दोलनलाई मुडभेडतिर धकेलेका छन् ।
अहिले प्रहरी प्रशासनको उपस्थितिमा कथित अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेकाले हामी त्यसको विरोधमा जिल्ला जान खोज्दा हामी सरोकारवालाहरुलाई पुलिस प्रशासनले बल प्रयोग गरेको छ । हामी त्यसको घोर विरोध गर्छौं ।
त्यस्तै एकीकृत माओवादीका पूर्व सभासद प्रेम बहादुर तामाङ्ले रसुवाली जनता कुलमान घिसिङ्को पक्षमा भन्दा पनि नेपालमा हाईड्रो पावर बचाउनु पर्छ भन्ने हेतुका कारण उर्जामन्त्रालयको विरोधमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताएका छन् ।
तामाङ्ले सडक देखि सदनसम्म पनि यो विषयमा कुरा उठिसकेको बताउँदै यो आन्दोलनलाई छाँयामा पार्न गृहमन्त्री बामदेव गौतम लागिपरेको आरोप लगाएका छन् । उनले भने–निहत्था जनता चिलिमे बचाउने अभियानमा लागिपरिरहेको वेला गृहप्रशासन भने निरंकुशता तर्फ अघि बढेको छ । उर्जामन्त्रीले निर्णय फिर्ता लिनुपर्छ ।
उनीहरुले पव्लिक कम्पनीमाथिको सरकारी हस्तक्षेपको अन्त्य, तत्कालिन प्रबन्ध संचालक घिसिङको पूर्नवहाली गरिनुपर्ने, आन्दोलनकारीमाथि भएको प्रहरी दमनको अन्त्य गर्नुपर्ने, उर्जामन्त्रीले गरेका निर्णय तत्काल फिर्ता गर्नुपर्ने लगायतका माग सहित भदौ ६ गतेबाट अनिश्चितकालिन रसुवा बन्द गर्ने चेतावनी दिएका छन् ।