संविधान निर्माण नहुन्जेलसम्म सरकार परिवर्तन हुदैन : रावल

काठमाण्डु टुडे २०७१ भदौ २ गते १०:४२ मा प्रकाशित

काठमाण्डु, २ भदौ – नेकपा एमाले उपाध्यक्ष भीम रावलले संविधानसभाबाट संविधान निर्माण नहुन्जेलसम्म एमाले सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

bhimरिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले नेपाली काँग्रेस र नेकपा एमालेबीच सरकार निर्माणको बेला भएको सात बुँदे सहमति संविधान निर्माणको लागि भएको बताउँदै सहमति कार्यान्वयन गरेर सहमतिका साथ अघि बढ्नु पर्नेमा जोड दिए ।

साक्षात्कारमा रावलले भने– हामी सहमतिबाट पछि हट्दैनौ । सहमतिको भावनाका साथ अघि बढ्छौ । यद्धपी रावलले काँग्रेससँग राष्ट्रपती र उपराष्ट्रपतीको संसदबाट अनुमोदन गर्ने विषयमा सात बुँदेमा सहमती भएको जिकिर गर्दै अहिले संविधान लेखनको समय भएका कारण यही विषयलाई लिएर पार्टीेले अतिरञ्जित नगर्ने पनि स्पष्ट पारेका छन् ।

उनले भारतसँग विद्युत ब्यापार र उर्जा विकास सम्झौता नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर गरिने स्पष्ट पार्दै जलस्रोतमा नेपालका हक कुण्ठित गर्ने गरि सम्झौता हुन नसक्ने बताए ।

पार्टीभित्रको पोलिटब्यूरो गठनको विवाद टुङग्याउने विषय पदाधिकारीबाट सचिवालयसम्म पुगेको भन्दै अब छिट्टै विवाद समाधान हुने विश्वास ब्यक्त गरे । उनले केन्द्रीय समितिको बैठकले राजनीतिक संगठनात्मक प्रस्ताव भने पारित गरेको जानकारी दिए ।

रावलले बाढी पहिरो पीडितको उद्दार र राहत वितरण कार्य प्रभावकारी रुपमा हुन नसकेको दावी गर्दै सरकारले युद्ध स्तरमा यो कार्यलाई योजनाबद्ध रुपमा अघि बढाउनु पर्ने बताए ।
उनले भारतले बनाएको बाँधका कारण डुबान भन्ने विषय आएकोले यस समस्याको समाधान सरकारले कुटनीतिक माध्यमबाट खोज्नु पर्ने बताए ।

साक्षात्कारमा सिचाईमन्त्री नारायणप्रसाद साउदले बाढी पीडितको उद्दार र राहतको लागि सबैै एक जुट भएर अघि बढ्नु पर्ने भन्दै स्थलगत अवलोकन गरेर चुस्त दुरुस्त रुपमा राहत तथा उद्धार कार्यलाई अघि बढाउनु पर्ने बताए । उनले त्यसको लागि सरकार बजेट उपलब्ध गराउन तयार रहेको स्पष्ट पारे ।

सीमा क्षेत्रमा उद्दारको लागि भारतसँगको सहयोगमा हेलिकप्टर समेत तयारी अवस्थामा राखिएपनि वातावरण प्रतिकुल नभएकोले नेपालबाटै उद्दार कार्य अघि बढाईएको भन्दै भारतमा बनाईएको बाँध र ढोका खोल्ने लगायतका विषयमा कुटनीतिक पहल गरिने विश्वास ब्यक्त गरे । उनले वस्तीहरु नदी किनार र अवब्यवस्थित रुपमा बसेकोले पनि बढी क्षती भएको उनको तर्क थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us