नेपालको विकासमा सघाउन एडीबीलाई प्रधानमन्त्रीको आग्रह

काठमाण्डु टुडे २०७१ भदौ १ गते १४:३८ मा प्रकाशित

काठमाण्डु, १ भदौ नेपाल भ्रमणमा रहेका एडीबी उपाध्यक्ष वेन्काइ झाङ्ग  र प्रधानमन्त्री सुशील कोइरालाबीच आइतबार भेटवार्ता भएको छ ।
झाङ्गसहितको टोलीले आइतबार अपरान्ह प्रधानमन्त्री कोइरालालाई भेटेको हो । भेटमा प्रधानमन्त्री कोइरालाले नेपालको विकासमा एडीबीबाट आफूले उच्च अपेक्षा राखेको बताएका थिए ।
कोइरालाले नेपाल दिगो शान्ति र राजनीतिक स्थायित्वका लागि संविधान निर्माणमा लागेको बताए ।

नयाँ संविधान बनेपछि विकासको ढोका खुल्ने र १० वर्षमा नेपालले विकासमा फड्को हान्ने बताए । कोइरालाले नेपाललाई प्रकृतिले अथाह स्रोत दिए पनि सदुपयोग गर्न नसकिएको उल्लेख गरे
मुलुकमा शान्ति र स्थिरता कायम भएमा जलविद्युतको उत्पादन, पर्यटन विकास, जडिबुटीको उत्पादन प्रशोधन निर्यात र कृषि क्षेत्रको आधुनिक र व्यवसायिक विकासबाटै नेपालको कायापलट गर्न सकिने प्रधानमन्त्रीको विश्वास थियो ।
भेटघाटका अवसरमा एडीबीका उपाध्यक्ष झाङ्गले बैकले सन २०१३ देखि २०१७ सम्मका लागि डेढ अर्व डलर सहयोग गर्ने जानकारी दिए । नेपालमा अधिक आर्थिक विकासको संभावना रहेको भन्दै उनले यसका लागि सरकारले सार्वजनिक खर्च गर्ने र व्यवस्थापन गर्ने क्षमता बढाउन जरुरी रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us