कोरियन भाषा परीक्षाको फाराम भर्नेको तेश्रो दिन पनि भीड

काठमाण्डु टुडे २०७१ साउन ३० गते ३:५१ मा प्रकाशित

काठमाण्डु, ३० साउन– रोजगार प्रणाली इपीएस इपीएसअन्तर्गत दक्षिण कोरिया जाने कामदारका लागि भाषा परीक्षाको आवेदन दिन तोकिएका स्थानमा आज तेस्रो दिन पनि युवाहरुको भीड लागेको छ ।

उपत्यकामा तीन र उपत्यका बाहिर चार स्थानबाट आवेदन फाराम बुझाउन युवाहरुको लाम लागेको हो ।

उपत्यकामा एक्मी इन्जिनियरिङ कलेज सीतापाइला, ल्यावरोटरी स्कुल कीर्तिपुर, च्यासल फुटबल खेलमैदान बालकुमारीबाट तथा उपत्यका बाहिर पोखराको विन्धबासिनी उच्चमावि बाटुलेचौर, बुटवलको प्रर्दशनी मण्डप, डडेलधुराको अमरगढी नगरपालिकामा रहेको कर्मचारी मिलन केन्द्र र सुनसरीको धरानबाट बुधबारदेखि आवेदन फाराम वितरण भइरहेको छ ।

इपीएस कोरिया शाखाका अनुसार बिहीबार दोस्रो दिन २० हजार सात सय ६९ र बुधबार १९ हजार ५ सयले आवेदन फाराम भरेका छन् ।
इपीएसअन्तर्गत काम गर्न कोरिया जान अनिवार्य रुपमा कोरियन भाषा परीक्षा पास गर्नुपर्छ । परीक्षा दिनेले शनिबारसम्म आवेदन फाराम बुझाइसक्नु पर्ने छ ।
भाषा परीक्षा आगामी असोज १० र ११ गते हुने छ । भाषा परीक्षा पास गरेकाहरु आगामी सन् २०१५ को कोटामा कोरिया जान पाउने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us