चार वर्ष हुँदा पनि मजदुरले तलब पाएनन्

काठमाण्डु टुडे २०७१ साउन २६ गते ७:२४ मा प्रकाशित

नवलपरासी, २६ साउन – देशकै सबैभन्दा ठूलो कागज उद्योगका रूपमा परिचित नवलपरासीको गैँडाकोटस्थित भृकुटी पेपर एण्ड पल्प लिमिटेड बन्द भएको चार वर्ष बितिसक्दा पनि मजदुरले पाउनुपर्ने करोडाैँ रुपैयाँ रकम अहिलेसम्म पनि पाएका छैनन् ।

उद्योगमा कार्यरत ३ सय ४७ जना मजदुर एवम् कर्मचारीलाई २०६९ चैत मसान्तसम्मको सबै रकम करिब १२ करोड ७० लाख रुपैयाँ वितरण गर्नु पर्ने देखिएको छ । चार वर्षदेखि बन्द रहेको उद्योगका मजदुर एवम् कर्मचारीले आफ्नो तलब भत्ता पाउनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलनरत छन् । कहिले कारखाना त कहिले उद्योगको काठमाडौँस्थित कार्यालयमा मजदुर कर्मचारीले आन्दोलन गर्दै आएका छन् ।

मजदुर, कर्मचारी र उद्योग सञ्चालकबीच गत २०६९ पुस २१ गते सहमति भई उद्योग बन्द भएपछिको करिब २ वर्ष अवधिको सम्पूर्ण तलब भत्ता तीन महिनाभित्र दिने सहमति भएको थियो । तर, सहमतिको करिब दुई वर्ष बितिसक्दा पनि मजदुर कर्मचारीले एक रुपैयाँ पनि नपाएको समाधान संयुक्त सङ्घर्ष समितिका संयोजक रामु शर्माले बताए ।

प्रशासन शाखाका पूर्व कर्मचारीसमेत रहनुभएका शर्माका अनुसार २०६७ फागुन १९ देखि उत्पादन कार्य बन्द गरेको भृकुटीले सरकारले कुनै विशेष सुविधा नदिएको अवस्थामा उद्योग पुनः सञ्चालन गर्न नसकिने जनाएको छ । सञ्चालकले २०६९ पुस २२ गतेदेखि यो उद्योग पूर्णरूपमा बन्द भएको घोषणा गरेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us