‘अमेरिकाले लादेन मार्दा त विरोध गरियो, चरी मार्न पाइन्छ ?’

काठमाण्डु टुडे २०७१ साउन २४ गते ४:५५ मा प्रकाशित

गुण्डाभन्दा पहिला चरी एमाले हो
mahesh-basnetदिनेश अधिकारी चरी गुण्डा नाइके हो होइन थाहा छैन, तर ऊ एमालेको एउटा प्रतिबद्ध कार्यकर्ता हो । चरीका विरुद्धमा राज्यले विभिन्न मुद्धाहरु लगाएको कुरा बाहिर आएको छ । राज्यले कुनै पनि अपराध कर्ममा संलग्न व्यक्तिलाई पक्रन, थुन्न र कानुनी दायरामा ल्याउन पाउँछ । त्यसमा हाम्रो कुनै आपत्ति होइन । तर त्यसलाई बहाना बनाएर हत्या नर्गे कुरा कदापी स्वीकार्य हुन सक्दैन । नेपालको कानुनले गुण्डा, अपराधी, बलात्कारी जो भए पनि बाच्न पाउने अधिकारको ग्यारेण्टी गरेको छ । चरीलाई पक्राउ गरेर कानुनी कारबाही गरेको भए हुन्थ्यो । चरी वा अरु कोही व्यक्तिको कुरा नगरौं, यस्तो घटना जो कोहीमाथि पनि हुनुहुँदैन ।

यो घटनामा प्रहरीको स्वेच्छाचारिता प्रष्टै देखियो । प्रहरीले बर्दी लगाएर गुण्डागर्दी र अराजक व्यवहार गरेको छ । लोकतान्त्रमा प्रहरी र सेनाजस्ता हतियार बोकेका शक्तिमा यस प्रकारको स्वेच्छाचारिता बढ्ने हो भने कोही पनि नागरिकले सुरक्षित महसुस गर्न सक्दैन । जतिखेर जो पनि मारिन सक्छ । हामीले यति मात्र भनेका छौं कि यो गैरन्यायिक हत्या हो र घटनामा संलग्न प्रहरीलाई छानबिन गरेर कारबाही गर्नुपर्छ । यसो भन्दा हामीमाथि आग्रह पूर्वाग्रह राखेर केही राजनीतिक मिशन बोकेका सञ्चार माध्यमले डन प्रवृत्तिको संरक्षण गरेको आरोप लगाए । हामीले डन संरक्षण गरेका छैनौं । कुनै कालखण्डमा गलत बाटोमा हिंडेका व्यक्ति म सुध्रन्छु भनेर आउँछ भने उसलाई मौका दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । राज्य भनेको एक प्रकारको सुधार गहृ पनि हो । राज्यले पनि कोही मान्छे गलत बाटोमा हिंडेको छ र सच्चिन्छु भन्छ भने उसलाई मौका दिनुपर्छ । हामीले गुण्डा संरक्षण गर्ने, हप्ता असुली गर्ने गरेको प्रमाण कसैले देखाओस् राजनीति छाड्छु । अमेरिकाले ओशामा बिन लादेनजस्तो आतंककारी मार्दा त हामीले विरोध गर्‍यौं । किन भने जतिसुकै अपराध गरेको किन नहोस्, मानिसको बाँच्न पाउने अधिकारी सुरक्षित हुनुपर्छ ।
बामदेवले क्रस फायरमा मारियो भन्नु बाध्यता
अर्को कुरा चरी प्रकरणमा एमालेमा दुई धार देखियो । अब एमाले फुट्ने भो, यस्ता हल्ला पनि सुनियो । यो सबै सञ्चारमाध्यमले फैलाएको अफवाह हो । यही प्रकरणले केपी ओली र बामदेवको एकता टुट्छ भनेर दिवा स्वप्न देख्नेहरु पनि होलान् । तर त्यस्तो हुँदैन । बामदेव हाम्रो पार्टीको उपाध्यक्ष मात्र होइन देशको उपप्रधान र गृहमन्त्री पनि हो । संसदमा चरी प्रहरीको जवाफी कारबाहीमा मारिएको भन्नु उहाँको बाध्यता हो । सरकारको महत्वपूर्ण पदमा आशिन व्यक्तिले सरकारी निकायले दिएका रिपोर्टलाई आधार मानेर बोल्ने हो । प्रहरीले दिएको रिपोर्ट उहाँले संसदमा पढ्नुभएको हो । त्यो उहाँको र पार्टीको धरणा हो भनेर बुझ्न मिल्दैन र हुँदैन पनि । प्रहरी संगठनको मनोबल  नघटोस् भन्नका लागि उहाँले त्यो रिपोर्ट पढ्नु भएको हो ।
चरी नभएको भए एमालेले धादिङमा तीनै क्षेत्र हाथ्र्यो
धादिङमा राज्य शक्तिको कभरमा संगठित गुण्डागर्दी गर्ने गिरोह सक्रिय छ । चरीले उनीहरुविरुद्ध लडेको थियो । उसले त्यस्तो प्रवृत्तिको प्रतिकार नगरेको भए धादिङको तीनवटै क्षेत्रमा एमालले जित्ने थिएन । त्यही पूर्वाग्रहका आधारमा उसलाई विभिन्न अभियोगमा फसाउने प्रयत्न यसअघि पनि पटकपटक भएको थियो । राजनीतिक गुण्डागर्दीविरुद्ध लडेर धादिङमा एमाले कार्यकर्ताको मनोबल उठाउन उसले निकै ठूलो मिहेनत गरेको छ । त्यही भएर अहिले धादिङ एमालेका नेताहरु सक्रिय भएर घटनाको विरोधमा उत्रनुभएको हो । एमाले नेता एवम् धादिङ–३ का सभासद् राजेन्द्र पाण्डेले त्यही भएर संसद बैठकमा आक्रोश पोख्नुभएको हो ।
प्रहरीमा आपराधिक प्रवृत्ति बढ्दैछ
चरी हत्या प्रकरण अत्यन्तै शंकास्पद छ । त्यसको सत्यतथ्य बाहिर आउनुपर्‍यो । प्रहरीकै कुरा पटकपटक बाझिएर आउने गरेको छ । यसले घटनालाई थप रहस्यमय बनाएको छ । प्रहरीले भनेको छ कि, प्रहरीले लखेटेपछि चरीले गोली चलायो । एकजना जवान घाइते भए । घाइते  प्रहरीको नाम केहो ? उनलाई कहाँ कतिवटा गोली लागेको छ ? अवस्था के छ ? कुन अस्पतालमा उपचार भइरहेको छ, खुलाउनु पर्दैन ? ।

उकालो बाटोमा मोटरसाइकल चलाएर भाग्दै गरेको मान्छेले कसरी गोली चलायो होला ? अनि प्रहरीले पछाडिबाट लखेटेर हानेको गोली छातीमा कसरी लाग्छ ? गोलीले ढलेको मानिसले चलाएको मोटरसाइकलमा कुनै क्षति छैन । त्यसैले हामीलाई के लागेको छ भने हत्या अन्तै गरेर त्यहाँ लगेर लास फालियो र मिडिया बोलाएर इन्काउन्टरमा मारियो भनियो । यस्तो गतिविधिले प्रश्रय पाउने हो भने कसैको पनि जिउधनको सुरक्षा हुँदैन । पछिल्लो समय नेपालको प्रहरीमा विभिन्न खालका आपराधिक घटनामा संलग्नता देखिन थालेको छ । सबैमा भनेको होइन, केहीमा । तर यस्तो प्रवृत्तिले प्रश्रय पाउँदै गयो भने यसले भोलि आमप्रवृत्तिकै रुप नलेला भन्न सकिन्न । भोलि कसैको सीमानाको निहुँमा, लेनदेनमा, केटीमा निहुँमा झगडा पर्ला । त्यस्तोमा प्रहरीले एउटाको पक्ष लिएर अपराधी करार गर्ने र मान्छे मार्ने अवस्था आयो भने कति भयावह अवस्था आउला ?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us