विद्यालयको सहयोग रोक्का

काठमाण्डु टुडे २०७१ साउन २१ गते १३:१५ मा प्रकाशित

चितवन , २१ साउन – भवन निर्माणका लागि दिइएको सहयोग रकमबाट चित्तबुझ्दो काम नगरेको भन्दै चितवनका ६० विद्यालयको ६४ लाखभन्दा बढी रकम रोक्का भएको छ ।

काम पूरा नभएका विद्यालयको ६४ लाख २५ हजार बैंकमा नै रोक्का गरिएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।

अनुगमनमा काम नदेखिएको र आवश्यक कागजपत्र शिक्षा कार्यालयमा नबुझाएकाले ती विद्यालयको रकम रोक्का गरिएको शिक्षा कार्यालयका सहायक इन्जिनियर देवीप्रसाद रिजालले बताए ।

शिक्षा कार्यालयले ३९ विद्यालयमा नयाँ दुई कोठा निर्माणका लागि प्रतिविद्यालय सात लाख ५० हजार, विद्यालय भवन निमाणका लागि ११ वटा विद्यालयलाई प्रतिविद्यालय २४ लाखका दरले रकम दिएको थियो ।

यस्तै १५ विद्यालयलाई भवन मर्मतका लागि प्रतिविद्यालय पाँच लाख, ४० विद्यालयको कक्षाकोठा मर्मत तथा पुनस्थापनाका लागि प्रतिविद्यालय बढीमा दुई लाखसम्म, वातावरण सुधारका लागि ४० विद्यालयलाई प्रतिविद्यालय दुई लाख ५० हजार र २७ विद्यालयको छात्रा शौचालयका लागि प्रतिविद्यालय दुई लाख ५० हजारका दरले रकम दिइएको थियो ।

यसमध्ये सबैभन्दा बढी हात्तीवाङ मावि काउलेको सात लाख, राष्ट्रिय मावि मझवाङ सिद्धिको चार लाख र महादेवटार पिप्लेको एक विद्यालयको चार लाख रकम रोक्का गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us