माछापालनबारे थालियो अनुसन्धान

काठमाण्डु टुडे २०७१ साउन २१ गते १३:१० मा प्रकाशित

बाँके, २१ साउन – तराई क्षेत्रमा माछापालनको सम्भावनाका बारेमा अध्ययन तथा अनुसन्धान थालिएको छ ।

जिल्लाका विभिन्न स्थानमा माछापालन व्यवसाय गर्न सक्ने सम्भावित क्षेत्रमा पोखरी निमार्णका विषयमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र (नार्क) खजुराले अनुसन्धान सुरु गरेको हो ।

अनुसन्धान केन्द्रमै हाल ३२ वटा पोखरी निर्माण गरिसकेको मत्स्यविज्ञ कमलेश श्रीवास्तवले बताए ।

उनका अनुसार अहिले अनुसन्धानका लागि खनिएका पोखरीमध्ये छवटा पोखरीमा ७२ हजार माछाका भुरा र सात लाख हायलिङ चारदेखि पाँच दिनका माछा छाडी अनुसन्धान सुरु गरिएको छ ।

पहाड र हिमाली जिल्लामा चिसो पानीमा माछापालन गरिन्छ भने तराईका जिल्लामा पानी तातो हुने भएकाले तातो पानीमा माछापालन गरेर कसरी राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विषयमा आफूहरूले अनुसन्धान गरिरहेको श्रीवास्तवले जानकारी दिए ।

निर्माण गरिएका ३२ वटै पोखरीमा माछा राखी अनुसन्धान गरिने छ । अहिले तराईका बाँके, बर्दिया, दाङलगायतका जिल्लामा मागअनुसारको माछा नपाइरहेकाले यो परीक्षण सफल भएमा माग पूरा गर्न सकिने केन्द्रले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us