पशुको कृत्रिम गर्भाधान

काठमाण्डु टुडे २०७१ साउन २० गते ११:०१ मा प्रकाशित

बुटवल, २० साउन – रुपन्देहीमा गएको एक वर्षमा ३८ हजार पशुमा कृत्रिम गर्भाधान गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७०–०७१ मा २४ हजार ६९० गाई, १३ हजार २३३ भैँसी र १४४ वटा बाख्रामा कृत्रिम गर्भाधान गरिएको हो ।

जुन अघिल्ला वर्षहरूको तुलनामा बढी रहेको पशु अधिकारीहरूको दाबी छ । अघिल्लो वर्ष कृत्रिम गर्भाधानमा पश्चिमाञ्चलमै पहिलो भएको रुपन्देही जिल्ला यस वर्ष पनि प्रथम स्थान लिन सफल भएको छ ।

जिल्लाका १६ सामुदायिक पशु प्रजनन केन्द्रसहित ४० स्थानमा ४० जना प्राविधिक कृत्रिम गर्भाधानका लागि खटिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लक्ष्मण ढकालल जानकारी दिए ।

यी सेवा केन्द्रहरूमा पुगेर कृत्रिम गर्भाधान गराउने कृषकले एउटा पशु कृत्रिम गर्भाधान गराएबापत १०० को सुविधा पाउने गरेका छन् ।

कृषकले पाउने १०० को सुविधा र गाउँस्तरसम्म सेवा केन्द्रको बिस्तार भएपछि कृत्रिम गर्भाधानतर्फ कृषक आकर्षित भएका डा. ढकालले बताए । कृत्रिम गर्भाधानपछि १०० बराबरको औषधि, घाँस वा अन्य सुविधा कृषकले पाउने गरेका छन् ।

कृत्रिम गर्भाधानबाट जन्मिएको वर्णशङ्कर जातको पशुले राम्रो दूध दिने र हुर्कने हुँदा कृषक आकर्षित भएका हुन् ।

नश्ल सुधार तथा कृत्रिम गर्भाधान नाम दिइएको यो कार्यक्रमका लागि आव २०७०÷७१ मा जिल्लामा रु १२ लाख २९ हजार बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।

कृत्रिम गर्भाधानमार्फत जन्मिएका वर्णशङ्कर र अन्य जातका गाईभैँसी र बाख्राका लागि जिल्लामा पशु आहार विकास राष्ट्रिय अभियानसमेत चलाइएको छ ।

यस वर्ष उक्त कार्यक्रमअन्तर्गत रुपन्देहीमा १३० हेक्टरमा उन्नत घाँसको बीउ वितरण गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us