नीति सिद्धान्त नमान्दा सहकारी समस्याग्रस्त

काठमाण्डु टुडे २०७१ साउन २० गते १०:३२ मा प्रकाशित

काठमाण्डु , २० साउन – सहकारीको नीति सिद्धान्त नमान्दा सहकारी संस्थाहरु समस्याग्रस्त भएको सहकारी अगुवाहरुले बताएका छन् ।

sahakariसहकारीको आगामी चुनावको सन्दर्भका मंगलवार मिडिया इन्टरनेशनलमा भएको कार्यक्रममा बोल्दै सहकारी संघका अगुवाहरुले हरेक सहकारी संघ– संस्थाहरुले सहकारीको नीति सिद्धान्त मान्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीको दर्शन सिद्धान्त अनुसार नचलेका सहकारी संघ संस्थाहरु समस्यामा परेको बताए । सहकारीको दर्शन सिद्धान्त अनुसार चल्न सवै सहकारी संघ संस्थाहरुलाई आग्रह गर्यौं, बडालले भने–‘जसले सहकारी मान्यतालाई उलंघन गर्यो, त्यो समस्यामा पर्यो ।’ आर्थिक विश्लेषण नै नगरि सहकारी स्थापना गर्ने तथा मनपरी कर्जा लगानी गरेका सहकारीहरु समस्यामा परेको बडालको भनाई छ । हरेक सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई विश्वासमा लिनु पर्नेमा बडालको जोड थियो ।

यस्तै, राष्ट्रिय सहकारी संघका निवर्तमान अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले नेपालमा सहकारी संस्था ब्यवस्थित हुन नसस्दा समस्यामा परेको बताए । उनले पछिल्लो समयमा नेपालको सहकारीको क्षेत्रमा राजनीतिक गन्ध आएको टिप्पणी गरे । आगामी नेतृत्वको समेत आकांक्षी रहेका बाँस्कोटाले सहकारीको योजना आयोगको जस्तो योजना नहुने भन्दै सहकारीको प्रवद्र्धन गर्ने निकायको रुपमा सहकारी संघलाई बुझ्न आग्रह गरे ।

राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक दक्ष पौडेलले सहकारी क्षेत्रमा समस्याहरु प्रशस्त रहेको उल्लेख गर्दै सहकारीको समस्याहरु समाधान गर्दै जानुपर्नेमा जोड दिए । उनले सहकारीको समस्या समाधान गर्न सक्ने, सहकारीको कर्जा जोखिमका कुराहरु सम्बोधन गर्न सक्ने, जोखिम ब्यवस्थापनलाई कम गर्न सक्ने तथा राजनीतिक गन्ध नआउँने नेतृत्वले मात्रै सहकारी हाक्नु पर्ने बताए ।

राष्ट्रिय सहकारी संघका सञ्चालक तथा सञ्चार प्रमुख रामचन्द्र उप्रेती, राष्ट्रिय सहकारी वैंकका पूर्व सञ्चालक गोविन्द मल्ल लगायतले सहकारी अर्थतन्त्रको तीन पिलर मध्ये एक भएर सहकारीको क्षेत्रमा उचित ध्यान जान नसकेको बताए । संघको आगामी नृृेतृत्वका लागि सर्वसम्मत टिम बनाउनुपर्नेमा सवैको जोड थियो ।

संघको आगामी साउन २३ र २४ गते साधारण सभा हुँदैछ । यो साधारणसभाले आगामी नेतृत्व समेत चयन गर्नेछ । साधारणसभाका लागि ३ सय १४ जना प्रतिनिधि रहने संघका अध्यक्ष बडालले जानकारी दिए । राष्ट्रिय सहकारी संघका हाल १९ वटा केन्द्रीय सहकारी संघहरु आवद्ध छन् ।

हाल देशभर ३० हजार २ सय ५३ वटा सहकारी संस्थाहरु दर्ता भएकोमा २७ हजार क्रियाशिल रहेको संघले जनाएको छ । देशभरका सहकारी संस्थामा ४४ लाख शेयर सदस्यहरु आवद्ध छन् । सहकारीहरुले देशभर झण्डै दुई सय अर्वको लगानी गरिरहेको संघका अध्यक्ष बडालले बताए ।

देशभर सञ्चालित सहकारी मध्ये एक सय ३० वटा सहकारी संस्थाहरु समस्याग्रस्त रहेको पनि बडालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us