
काठमाण्डु, २० साउन –बिभिन्न क्षेत्रका कलाकारहरुले सरकारले सिन्धुपाल्चोकका पहिरो पीडितलाई महत्व नदिएको गुनासो गरेका छन् । गाउँबस्ती नै रित्तिनै गरी गएको पहिरो पश्चात सरकारले चाल्नुपर्ने कदम फितलो भएको उनीहरुले गुनासो गरे । काठमाण्डूमा पत्रकार सम्मेलन गरेर उनीहरुले राज्य उदासिन हुँदा आफूहरु मर्माहत भएको बताए ।
बरिष्ठ कलाकार मदनदास श्रेष्ठले पहिरो पीडितका लागि सरकार नतातेको बताए । मोदीका कारण सरकारले सिन्धुपाल्चोकको घटनालाई ओझेलमा पारको श्रेष्ठको भनाई छ । श्रेष्ठ भन्छन् ‘सरकारले तुरुन्त राहत र क्षतिपूर्ती सहितको कार्यक्रम लैजान पर्छ ।’ उनका अनुसार कलाकारहरुले पनि बाढी पीडितका लागि राहत संकलन गर्न लागेका छन् ।
गायिका कोमल वलीले विदेशमा चराचुरुङ्गी मर्दा ठूलो क्षति ठानिन्छ तर नेपालमा सिंगो गाउँका मान्छे मर्दा सरकार मौन भएको बताइन् । वलीले भनिन् ‘नेपालमा जति मान्छे मरे पनि समवेदना छैन । ’ राहत आश्वासन र सहयोगको पखाईमा बसेका पीडितलाई मोदीको भ्रमणका नाममा अन्याय भएको गायिका वलीको भनाई छ । सम्पत्ति र परिवार गुमाएकाले सरकारले दिने २५ हजार नबुझ्न समेत उनले आग्रह गरिन् ।
त्यस्तै संगीतकार चेतन सापकोटाले आफ्नो गृह जिल्लाको पीडाले छटपटिएको बताए । उनले भने ‘ राज्य पुरै मोदीको स्वागतमा लाग्यो तर सुनकोशीतिर ध्यान दिएन । ’सापकोटाका अनुसार केही दिनपछि संगीतकार संघले राहत संकलन गर्ने छ ।