मोदीले महाकालीमा पुल निर्माण गरिने भन्दा महेन्द्रनगर उत्साहित

काठमाण्डु टुडे २०७१ साउन १९ गते ११:३८ मा प्रकाशित

भीमदत्तनगर, १९ साउन – आइतबारदेखि दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा सम्बोधनका क्रममा महाकाली नदीमा पुल निर्माण गरिने बताएपछि कञ्चनपुरवासीले त्यसको स्वागत गरेका छन् ।

लामो समयदेखि पुल निर्माणका लागि धाइरहेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घले भारतीय प्रधानमन्त्री मोदीबाट महाकाली नदीमा पुल बनाउन देखाउनुभएको सदासयताप्रति स्वागत गरेको छ ।

महाकाली नदीमा पुल नहुँदा यहाँको निजी क्षेत्रका साथै आम सर्वसाधारणले पनि निकै सास्ती खेप्दै आउनुपरेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेशदत्त जोशीले बताए ।

“मोदीले महाकालीमा पुल बनाउँछु भन्नु सकारात्मक पक्ष हो” मोदीको सम्बोधन सुनेपछि हर्षित हुँदै अध्यक्ष जोशीले भने , “अब पुल बनेमात्रै हाम्रो व्यापार, व्यवसायको कायापलट हुन्छ ।”

पुल नहँुदा व्यापार व्यवसायमा ठूलो बाधा पुग्दै आएको अध्यक्ष जोशीले जानकारी दिए । महाकाली नदीमा रहेको शारदा ब्यारेज (वनबासा पुल) पनि निकै पुरानो भएकाले भारतीय पक्षले दिनमा पाँच घण्टामात्रै खुलाउने गरेको छ ।

पश्चिमी नाका भएर ओहोरदोहोर गर्ने सर्वसाधारण र सोही नाका भएर व्यापार, व्यवसाय गर्नेहरूले निकै सास्ती खेप्नुपरेको अध्यक्ष जोशीको अनुभव रहेको छ ।

“यो क्षेत्रकै प्रगति नहुनुको कारण नै पुल नहुँदा थियो”, अध्यक्ष जोशीले भने , “पुल बनेपछि निजी क्षेत्रसँगै आम नागरिकलाई पनि फाइदा पुग्नेछ ।” पश्चिम नाका महाकाली नदीमा पुल बने भारतीय राजधानी नयाँ दिल्लीबाट नेपालको राजधानी काठमाडौँसित व्यापार गर्न पनि सहज हुने उनले बताए ।

पुल नहुँदा मात्रै असहज छ जोशीले भने , “पुल बन्ने हो भने दिल्ली र काठमाण्डुको दूरी एक हजार किलोमिटर मात्रै छ ।”

वाणिज्य सङ्घले पुलकै लागि हालका भारतीय राजदूत रञ्जित रे र यसअघिका राजदूतलाई पनि यहाँ डाकेको थियो । राजदूतद्वयलाई उद्योग वाणिज्य सङ्घले पुलकै लागि टनकपुरदेखि चाँदनीसम्मको महाकाली नदी छेउछाउ भ्रमण पनि गराएको अध्यक्ष जोशीले बताए ।

त्यसैगरी कञ्चनपुरका वरिष्ठ व्यापारी दानसिंह ठकुराठीले महाकाली नदीमा पुल बनाउने विषयमा भारतीय प्रधानमन्त्री सकारात्मक देखिएको भन्दै अब चाँडै नै यस विषयमा यहाँको निजी क्षेत्रले समीक्षा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us