सुनकोसी थुनिँदा भन्सार राजस्व प्रभावित

काठमाण्डु टुडे २०७१ साउन १९ गते १०:१३ मा प्रकाशित

चौतारा, १९ साउन – राम्चेको जुरेमा शनिबार गएको पहिरोले सुनकोसी नदी थुनिएर अरनिको राजमार्ग अवरुद्ध भएपछि चीनबाट आयात भएका करोडौँ मूल्यका सामान अलपत्र भई राजस्व घाटा भएको छ ।

पहिरोले अरनिको राजमार्गको करिब डेढ किलोमिटर सडक पूर्णरुपमा क्षति भएपछि यातायातमा अवरोध उत्पन्न भई राजस्व सङ्कलनमा करोडौँको घाटा भएको हो ।

चालु आवका लागि छ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको सो नाकाबाट दैनिक रु एक करोड राजस्व सङ्कलन हुँदै आएको छ । दसैँको सामान भित्रिने समय भएकाले हाल दैनिक रु दुई करोड ५० लाखसम्म राजस्व सङ्कलन हुने तातोपानी भन्सार प्रमुख मिमांश अधिकारीले बताए ।

सडक बन्द भएका कारण खासाबाट सामान भरिएका ४०–४५ वटा कन्टेनर भ्यान भन्सार परिसरमा रहेको र अरु २०–२५ वटा कन्टेनर भ्यान खासा क्षेत्रमा रहेकोसमेत भन्सार प्रमुख अधिकारीले जानकारी दिए ।

“पहिरोले थुनेर तलाउ बनेको सुनकोसीको पानी नघटेसम्म पैदल बाटोसमेत नखुल्ने भएकाले अहिले यसबारेमा सोच्नै सकिँदैन,” उनले भने– “पछि कुनै विकल्प निस्कन्छ कि भन्ने आशा गरेको छु ।”

पहिरोकै कारण क्षेत्र नं १ र २ का ५५ गाविसमा विद्युत् र टेलिफोन लाइन बन्द भएपछि सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ । विद्युत्को अभावमा चार्ज गर्न नपाएपछि मोबाइल सेट बन्द भएको र पहिरोले काठमाण्डुदेखि खासासम्म बिछ्याइएको अप्टिकल फाइभरको लाइन क्षतविक्षत भएको बताइन्छ ।

तातोपानी नाका भएर अरनिको राजमार्ग हुँदै माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका लागि चीनबाट सामान लिएर आएको १०÷१२ वटा ट्रकसमेत बीच बाटोमा रोकिएर बसेको तातोपानी गाविस निवासी समाजसेवी बहादुर शेर्पाले बताए ।

बाटो अभावले बाह्रबिसेलगायत तातोपानी क्षेत्रका करिब दुई दर्जन बासिन्दा तल आउन र यताका बासिन्दाहरु माथि जान नसकेको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us