
काठमाण्डु, १५ साउन – नेपालका अनाथ बालबालिकालाई सघाउन जापानका विद्यार्थीबाट सङ्कलन गरिएको चार लाख जापानी येन बराबरको रकम आज भक्तपुरस्थित नवयुवा बाल सुधार समाजलाई हस्तान्तरण गरिएको छ ।
जापानको कोबे रिउकोकु जुनियर एन्ड सिनियर हाइस्कुलका विद्यार्थीले नेपालका अनाथ बालबालिकाका लागि सहयोग गर्न विगत दुई वर्षसम्म मासिक रकम सङ्कलन गरेका थिए ।
नेपालको सामुदायिक विद्यालयमा भौतिक सहयोग गर्दै आएको एसिया फ्रेन्डसिप नेटवर्क (एएफएन) मार्फत जापनिज प्रशिक्षक कुरियामा मासायुकीले सो रकम हस्तान्तरण गरेका हुन् ।
सो रकमबाट विद्युत् भार कटौतीबाट बच्न सौर्य बिजुली (सोलार) खरिद गरिनेछ । विद्युत् भार कटौती समस्याका कारण अनाथ आश्रममा आश्रित बालबालिकालाई उज्यालोमा पढ्ने वातावरणका लागि यो सहयोग महत्वपूर्ण हुने एएफएनका दक्षिण एसिया प्रतिनिधि गणेशमान लामाले बताए ।
मासायुकीले नेपाल रहँदा काठमाडौँ, काभ्रे, पर्सा र कास्कीका दुई सय जना शिक्षकलाई प्रशिक्षण दिने कार्यक्रम छ ।
उनले नेपालका अनाथ तथा असहाय बालबालिकालाई सहयोग गर्न पाउँदा आफू र आफ्ना विद्यार्थी खुसी भएको बताए । रासस