नब्बे प्रतिशत कृषकद्वारा रासायनिक विषादी प्रयोग

काठमाण्डु टुडे २०७१ साउन १४ गते १२:३७ मा प्रकाशित

चितवन, १४ साउन – चितवनमा व्यावसायिक तरकारीखेती गर्ने कृषकमध्ये ९० प्रतिशत कृषकले रासायनिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार चितवनका ताजा तरकारी तथा फलफूलमा पनि विषादीको अवशेष भेटिएका छन् । कृषक सचेत हुँदाहुँदै पनि लापरवाहीका कारण यस्तो भएको सो कार्यालयका बाली संरक्षण अधिकृत कमलनाथ वाग्लेले बताए ।

रासायनिक विषादीको प्रयोगले मानव शरीरमा असर पर्ने हुदा कृषक सचेत हुनुपर्ने उनको भनाइ थियो ।

चितवनमा छ हजार २२५ हेक्टर क्षेत्रफलमा तरकारीखेती गरिँदै आएको छ । जसबाट वार्षिक ८४ हजार मेट्रिक टन तरकारी काठमाण्डृु , पोखरा, वुटवललगायतका सहरमा जाने गरेको कार्यालयले जनाएको छ ।

यसैबीच जैविक विषादीको आपूर्ति गर्नका लागि पूर्वी चितवनका कृषकले जिल्ला कृषि विकास कार्यालयसँग माग गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालयले हिजो भण्डारामा आयोजना गरेको चेतनामूलक कार्यक्रममा बोल्ने अधिकांश कृषकले जैविक विषादीको आपूर्ति गर्न माग गरेका हुन् ।

पूर्वी चितवनमा रहेका कृषकमध्ये ४० जनामा रासायनिक विषादीको असर भेटिएपछि उनीहरूले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापा, बाली संरक्षण अधिकृत कमलनाथ वाग्ले, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, ताजा तरकारी सङ्घका केन्द्रीय उपाध्यक्ष चुण्डामणि वर्तौला, जागृति सहकारी संंस्थाका अध्यक्ष खिलकान्त रुवालीलगायतले बोलेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us