छवटा लघु जलविद्युत् आयोजना बन्द

काठमाण्डु टुडे २०७१ साउन १४ गते १२:३२ मा प्रकाशित

बनेपा, १४ साउन – काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा रहेका छवटा लघु जलविद्युत् आयोजना बन्द भएका छन् ।

जिल्लाको नयाँगाउँ देउपुर, कटुञ्जे, कुशादेवी र पोखरीचौरी गाविसमा रहेका लघु जलविद्युत् आयोजना बन्द भएको जिल्ला विकास समिति काभ्रेपलाञ्चोकको ऊर्जा, वातावरण तथा जलवायु परिवर्तन शाखाले जनाएको छ ।

बन्द भएकामध्ये अधिकांश गाविसमा विद्युत् प्रसारण लाइन पुगेको र अन्य केहीमा बाटोघाटोको अतिक्रमणका कारण लघु जलविद्युत् आयोजना बन्द भएको हो ।

नयाँगाउँ देउपुरमा रहेको चाखोला लघु जलविद्युत् आयोजना र कटुञ्जेमा रहेको रोशी खोला जलविद्युत् आयोजनामा विद्युतीकरणका लागि टर्वाइन चलाउन कोसिस गरिएको तर बाटोको अतिक्रमणका कारणले बन्द भएको सो शाखाका प्रमुख सञ्जीव लालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बन्द भएका अन्य लघु जलविद्युत् आयोजनामा लेखापानी जलविद्युत् आयोजना खार्पाचोक, बौवाखोला जलविद्युत् आयोजना पोखरीचौरी, गुडगुडे जलविद्युत् आयोजना, कुशादेवी, पोटाखोला जलविद्युत् आयोजना कटुञ्जे रहेका छन् ।

सो शाखाले दिएको जानकारीअनुसार जिल्लामा कुल ६० वटा लघु जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् र त्यसबाट ८०९.१२ किलोवाट बिजुली उत्पादन गरी सात हजार ८६५ घरधुरी लाभान्वित भएका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको कुल घरधुरीको अनुपातमा लघु जलविद्युत्बाट बिजुली उपभोग गर्ने घरधुरीको सङ्ख्या ९ प्रतिशत रहेको जिल्ला विकास समितिको ऊर्जा, वातावरण र जलवायु परिर्वतन शाखाले जनाएको छ ।

राष्ट्रिय जनगणना ०६८ ले यस जिल्लाको ८७.३ प्रतिशत घरधुरीले बिजुलीको प्रयोग गरेको देखाएको छ ।

विद्युत्को राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली नपुगेको दुर्गम गाविसमा नेपाल सरकारको अनुदान, दातृ निकायको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय श्रमदानमार्फत लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी व्यवस्थापन गरिँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us