सातौँ राष्ट्रिय खेलकुदले बजेट पाउने

काठमाण्डु टुडे २०७१ साउन १४ गते ९:१९ मा प्रकाशित

काठमाण्डु , १४ साउन – युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोजन गर्ने बताएका छन् ।

खेलकुद मन्त्री पौडेलले आर्थिक वर्ष २०७०–७१ को बजेट छुट्याउने बेलामा उक्त प्रतियोगिताका लागि मन्त्रालयबाट केही प्राविधिक त्रुटी भएको भन्दै पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई प्रतियोगिता सञ्चालन गराउन अर्थ मन्त्रालयसँग कुरा गरेर बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आर्थिक वर्ष २०७०–७१ को सरकारी नीति तथा कार्यक्रममा साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट नछुट्याएको भन्दै पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले मन्त्री पौडेललाई बुधबार ज्ञापनपत्र बुझाएको छ ।

समितिका अध्यक्ष किरण राईले उक्त प्रतियोगिता पूर्वाञ्चलको मात्र नभई राष्ट्रिय खेलकुदको विषय भएको यसलाई सरकारले गम्भीरतापूर्वक लिई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

उनले उक्त प्रतियोगिताबाट अन्तर्राष्ट्रिय खेलका लागि खेलाडी छनोट गर्न निकै सघाउ हुने भन्दै विभिन्न विधाका खेलाडी दुई वर्षदेखि प्रतियोगिताको तयारीमा जुटेको बताए ।

उक्त प्रतियोगिता २०७० सालमा हुने भनिए तापनि संविधानसभाको चुनावको कारण सञ्चालन हुन सकेको थिएन ।

विसं २०७० माघ २५ गते राष्ट्रिय खेलकुद परिषद्को एकसयौँ बोर्ड बैठकबाट प्रतियोगिता २०७१ फागुनमा पूर्वाञ्चलमा आयोजना गरिने पारित भएको थियो ।

प्रतियोगिता प्रत्येक दुई÷दुई वर्षको अन्तरालमा हुने भनिए पनि त्यसले निरन्तरता भने पाउन सकेको छैन । प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ सालमा काठमाण्डु , दोस्रो २०४० मा पोखरा, तेस्रो २०४२ मा वीरगन्ज, चाँैथो २०५४ मा नेपालगन्ज, पाँचौँ २०६५ काठमाण्डु र छैटौँ २०६८ सालमा धनगढी र कन्चनपुरमा भएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us