तीन सहकारीको दर्ता खारेज

काठमाण्डु टुडे २०७१ साउन १३ गते ८:५५ मा प्रकाशित

कञ्चनपुर, १३ साउन – यस जिल्लाका तीन सहकारी संस्थाको दर्ता खारेज गरिएको छ ।

डिभिजन सहकारी कार्यालय महेन्द्रनगरमा लामो समयदेखि विवरण नबुझाउने सहकारी संस्था खारेजीमा परेका हुन् ।

सहकारी कार्यालयका प्रमुख रामबहादुर खातीका अनुसार वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र साधारणसभा सम्बन्धी कागजात नबुझाउने सहकारी संस्थाको दर्ता खारेज गरिएको हो ।

आव २०७०–७१ मा दर्ता खारेजीमा पर्ने सहकारीमा सुडा–४ को कञ्चन कुखुरा एवम् पशुपालन सहकारी, भीमदत्तनगरपालिका–४ को महान दुग्ध उत्पादक सहकारी र पिपलाडी–८ मा रहेको नमुना बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

आव २०६९–७० मा केदार बहुउद्देश्यीय, जागृति महिला बचत तथा ऋण, गन्धारी कृषक बहुउद्देश्यी सहकारी र उग्रतारा ग्रामीण विद्युत् सहकारी संस्था खारेजीमा परेका थिए । “पटकपटक कागजपत्र बुझाउन ताकेता गर्दै आएपनि बेवास्ता गर्न थालेपछि दर्ता खारेज गरेका हौँ,” उनले भने ।
यसैगरी, सहकारी कार्यालयले आव २०६४÷०६५ मा डडेल्धुराका छ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको थियो ।

सहकारी कार्यालयका सूचना अधिकारी राजेन्द्र भट्टका अनुसार कञ्चनपुरका ८३ र डडेल्धुराका ६३ सहकारीलाई निष्क्रिय सहकारीको सूचीमा राखिएको छ । वार्षिक निरीक्षणका बेला ती संस्था निष्क्रिय देखिएपछि निष्क्रिय संस्थाको सूचीमा राखिएको हो । डिभिजन सहकारी कार्यालयमा ३६३ सहकारी संस्था दर्ता रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us