कोलकत्तामा भानुभक्तको शालिक बनाइने

काठमाण्डु टुडे २०७१ साउन १० गते ५:०४ मा प्रकाशित

bhanuकाठमाण्डु, १० साउन – नेपाली जनकल्याण समिति, हावडा, कोलकाताले आगामी वर्ष कोलकातामा आदिकवि भानुभक्त आचार्यको सालिक निर्माण गर्ने भएको छ ।

आदिकविको द्विशताब्दी समारोहका उपलक्ष्यमा यसै हप्ता कोलकाता गएको नेपाली प्रतिनिधिमण्डल र समितिबीच भएको छलफलपछि सो निर्णय भएको हो । नेपाली प्रतिनिधिमण्डलमा प्रा डा विष्णुराज आत्रेय, दर्शनशास्त्री विष्णु प्रभात, समितिका सल्लाहकार धर्मराज बराल र पत्रकार श्याम रिमाल सहभागी थिए ।

समितिले भारत पश्चिम बङ्गाल राज्यस्थित कोलकातामा हरेक वर्ष ब¬ङ्गाली मन्त्री तथा शुभेच्छुक बङ्गालीका साथै प्रवासी नेपालीबीच भानुजयन्ती समारोह आयोजना र ‘बिहानी’ शीर्षक वार्षिक साहित्यिक पत्रिका प्रकाशन गर्दै आएको छ ।

प्रा डा. आत्रेयले अर्काे वर्ष भानुको सालिक स्थापना गरी कोलकातामा भानुजयन्ती, रवीन्द्रनाथ जयन्ती र बहुभाषिक कविगोष्ठी गर्न समितिलाई आग्रह गर्नुभयो भने समितिका सभापति बद्रीविक्रम थापाले समितिको अगुवाइमा कोलकातास्थित नेपाली महावाणिज्यदूतावाससँग ‘नेपाल गृह’ निर्माण र अन्य सहयोग माग गरी प्रवासी नेपालीहरूसँग चन्दा उठाई सालिक स्थापना गरिने प्रतिबद्धता व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us