बेनी नगरपालिकालाई फोहर सङ्कलनबाट दश लाख आम्दानी

काठमाण्डु टुडे २०७१ साउन ८ गते १०:२० मा प्रकाशित

म्याग्दी, ८ साउन – बेनी नगरपालिकाले फोहर सङ्कलन र व्यवस्थापनबाट आर्थिक वर्ष २०७०–७१ मा करिब १० लाख आम्दानी गरेको छ । जिल्ला सदरमुकामसमेत पर्ने बेनी बजार क्षेत्रबाट निस्कने फोहरलाई नगरपालिकाले जलेश्वर नजिकै कालीगण्डकीको किनारमा थुपारेर जलाउँदै आएको छ ।

आर्थिक वर्ष २०७०–७१ मा फोहरबाट नौ लाख ९० हजार आम्दानी भएको नगरपालिकाका शाखा अधिकृत पोषनाथ शर्माले जानकारी दिनुभयो । फोहर व्यवस्थापनबाट भएको यो अहिलेसम्मकै धेरै आम्दानी भएको भन्दै उहाँले फोहर व्यवस्थापनले बजार क्षेत्र पनि सफा सुग्घर देखिएको बताउनुभयो ।

यसअघि अर्थुङे गाउँ विकास समितिले सङ्कलन गर्दै आएको फोहर गत वैशाख महिनामा सरकारले अर्थुङेसहित घतान, पुलाचौर, सिंगा, ज्यामरुकोट र रत्नेचौर गाविसलाई समेटेर बेनी नगरपालिका घोषणा गरेसँगै यसको व्यवस्थापन नगरपालिकाले गर्दैआएको छ । एक हजार ५०० घरबाट निस्कने विभिन्न प्रकारका फोहर मङ्गलबारबाहेक हप्तादिन भर नै दैनिक रुपमा सङ्कलन हुँदै आएको छ ।

प्रतिघर २५ देखि १५० सम्म शुल्क निर्धारण गरिएको छ । नगरपालिका घोषणासँगै प्रतिघर ५० देखि २५० नयाँ शुल्क निर्धारण गरिएको शाखा अधिकृत शर्माले जानकारी दिए । आगामी वर्षमा फोहरको आम्दानी दुई लाख बढ्ने अनुमान गरिएको छ ।

गाविसले २०६४ सालदेखि फोहर व्यवस्थापन गर्दै आएपनि पछिल्लो समय शुल्क वृद्धिसँगै यसको आम्दानी बढ्दै गएको बताइएको छ । नगरबाट निस्कने फोहर तीन जना कर्मचारीले ट्र्याक्टरमा सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ ।

नगरपालिकालाई थप व्यवस्थित बनाउन फोहरको शुल्क बढाइएको र नयाँ स्थानमा फोहर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको खोजी भइरहेको नगरपालिकाका कार्यकारी अधिकृत केशवराज सुवेदीले जानकारी दिए । नगरपालिका घोषणासँगै बेनीबजारको मात्र नभएर गलेश्वर, रत्नेचौर, सिंगातातोपानी बजारको व्यवस्थापनको चुनौती पनि थपिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us