महानगरपालिकाको आम्दानी ५७ प्रतिशतले वृद्धि

काठमाण्डु टुडे २०७१ साउन ७ गते ११:१३ मा प्रकाशित

काठमाण्डु , ७ साउन –काठमाण्डु महानगरपालिकाले आर्थिक वर्ष २०७०–०७१ मा दुई अर्ब ३० करोड ३८ लाख आम्दानी गरेको जनाएको छ ।

ktmसो आम्दानी अघिल्लो आर्थिक वर्ष (२०६९–०७०) को तुलनामा ५७ प्रतिशतले बढी हो । महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा एक अर्ब ४३ करोड २१ लाख आम्दानी गरेको थियो ।

महानगरपालिकालाई आन्तरिक तथा बाह्य स्रोतको माध्यमबाट सो रकम आम्दानी भएको हो । आन्तरिकअन्तर्गत मालपोत, घरजग्गा, घर बहाल, सवारी र विज्ञापनलगायतका करबाट र बाह्यअन्तर्गत नेपाल सरकार तथा विभिन्न दातृ सङ्घ संस्थाबाट आम्दानी प्राप्त हुने गर्दछ ।

महानगरपालिका राजस्व महाशाखाका अधिकृत ध्रुव काफ्लेले नयाँ करदाता थपिँदै गएको तथा विगतमा करमा दर्ता नभएका व्यवसायीलाई विभिन्न योजनाका साथ कर तिर्न प्रोत्साहन गरिएकाले आम्दानीमा वृद्धि भएको बताए ।

उनले महानगरवासी तथा महानगरभित्र सञ्चालन गरिएका विभिन्न व्यवसायसँग सम्बन्धित व्यापारी, उद्योगीले तिर्ने करबाट महानगरको विकास गरिने हुँदा कर नतिर्नेलाई आवश्यक कारबाही गरी करको दायरामा ल्याइने जानकारी दिए ।

त्यसैगरी महानगरपालिकाले असोज मसान्तसम्म घरजग्गा कर तिर्ने सेवाग्राहीलाई १० प्रतिशत छुट तथा पुस मसान्तसम्म तिर्नेलाई बक्यौता जरिवानामा छुटको व्यवस्था गरेको थियो ।

महानगरपालिकाको २४औँ नगरपरिषद्ले वार्षिक एक लाखभन्दा बढी कर तिर्ने करदातालाई किस्ताबन्दीको सुविधासमेत उपलब्ध गराएको छ । सेवाग्राहीको सुविधालाई मध्यनजर गरी सो सेवा उपलब्ध गराइएको अधिकृत काफ्लेले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us