कारबाहीमा पैँतीस तालिवानको मृत्यु

काठमाण्डु टुडे २०७१ असार २५ गते ११:५३ मा प्रकाशित

काबुल, २५ असार – अफगानिस्तानमा त्यहाँका तालिवानहरूका विरुद्धमा सुरक्षाबलले मङ्गलबार बिहानदेखि बुधबार बिहानसम्म गरेको कारबाहीको क्रममा ३५ तालिवान आतङ्ककारीको मृत्यु भएको छ ।

अफगान गृह मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । गत २४ घण्टाभित्र अफगान सैनिक, प्रहरी र गुप्तचर निकाय समेतको सहभागितामा सो कारबाही जारी रहेको गृह मन्त्रालयले जनाइएको छ ।

अफगानिस्तानको कुनार, नान्गाहार, घोर, जाबुल, पाक्टिका र हेलमान्ड प्रान्तमा भएको कारबाहीको क्रममा ३५ आतङ्ककारीको मृत्यु हुनुको साथै छ जना घाइते भएका छन् ।

साथै कारबाहीका क्रममा चार सशस्त्र हतियारधारी पनि पक्राउ परेको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षाबलले हातहतियार कब्जा गरेको र सुरक्षाबलतर्फ भने कुनै हताहतको समाचार नभएको जनाइएको छ ।

सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटो आबद्ध सबै देशहरूले निर्णय गरिसकेका हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ ।
त्यसैकारण पछिल्ला दिनहरूमा अफगानिस्तानमा तालिवान विरुद्धको कारबाहीमा पनि अफगान सुरक्षाबलकै सहभागिता रहँदै आएको छ ।

तर पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा आक्रमणलाई तीव्र पारेका छन् ।

मङ्गलबार साझमा पनि उत्तरी कुन्दुज प्रान्तमा तालिवानले गरेको आक्रमणमा एक बालकसहित चार बालबालिकाको मृत्यु भएको छ ।

तालिवानको आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि कारबाही जारी राखेको छ ।  सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us