
काठमाण्डु, २१ असार– युक्रेनले मुलुकको पूर्वी भागमा सक्रिय रुस समर्थित विद्रोहीविरुद्ध जारी सैन्य कारबाही स्थगन गरी स्थायी युद्धबिरामको घोषणा गरेको छ ।
सरकारले युद्धबिराम गरेसँगै वार्तामा आउन विद्रोहीलाई अपिल गरेको छ ।
राष्ट्रपति पेट्रो पोरोसेन्कोले देशको पूर्वी भागमा संघर्षरत रुस समर्थक पृथकतावादी आन्दोलनको स्थायी समाधानका लागि युद्धबिराम घोषणा गरेका हुन् । यसअघि पनि युक्रेनले १० दिने अस्थायी युद्धविराम घोषणा गरेको थियो ।
पछिल्लोपटक पूर्वी युक्रेनमा १३ सरकारी कर्मचारीको हत्या भएपछि पुन: स्थायी युद्धबिराम भएको हो । राष्ट्रपति कर्यालयले विद्रोहीसँगको वार्ताको स्थान र समयसमेत तय भइसकेको जनाएको छ । तर स्थान र मिति गोप्य राखिएको छ ।
वार्ता लुहांस्क सहरमा हुने अनुमान गरिएको छ । पूर्वी युक्रेनमा विद्रोही तथा सेनाबीचको संघर्षका कारण अहिलेसम्म सयौं जनाको मृत्यु भइसकेको छ ।