पूर्वी युक्रेनमा रसियाली पत्रकारको हत्या

काठमाण्डु टुडे २०७१ असार १६ गते ११:२८ मा प्रकाशित

मस्को, १६ असार – रसियाली पत्रकारलाई पूर्वी युक्रेनमा गोली हानी हत्या गरिएको समाचार छ । रसियाली पब्लिक टेलिभिजनका पत्रकारलाई रसियाली पत्रकारहरुको समूहमा रहेका बेला गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ ।

पूर्वी युक्रेनमा रसियाली समर्थक विद्रोहीहरुले आन्दोलन गरिरहेका बेला सो समाचार सङ्कलनका लागि त्यहाँ रहेका रसियाली पत्रकारहरुको समूहमाथि हमला भएको बताइएको छ ।

एनाटोली क्लियन नामका ६८ वर्षीय ती पत्रकारलाई गोली हानिएको थियो । उनी रसियाली पब्लिक टेलिभिजनका क्यामेरापर्सन हुन् ।

सो टेलिभिजन च्यानलले पत्रकारमाथि गोली सैनिकको पक्षबाट हानिएको पाइएको जनाएको छ । पत्रकारहरुको एक समूहमाथि सेनाको पक्षबाट गोली हानिएको सो च्यानलले जनाएको छ ।

सो पत्रकारको समूह समाचार सङ्कलनका लागि पूर्वी युक्रेनका पृथकतावादीहरुले आन्दोलन जारी राखेको स्थलमा गइरहेका थिए ।

बसमा ती पत्रकारहरु गइरहेका बेला सेनाको गस्ती टोलीका तर्फबाट गोली हानिएको बताइएको छ । सो बसका चालकको घटनास्थलमै निधन भएको थियो भने ती पत्रकारको भने घटनास्थलमै ज्यान गएको थियो ।

क्लियानले सो टेलिभिजन च्यानलमा कम्तीमा पनि ४० वर्षदेखि काम गरिरहेका थिए । उनी युद्धको समाचार सङ्कलन गर्ने प्रसिद्ध पत्रकारका रुपमा परिचित थिए ।

उनले यसअघि पनि विश्वका विभिन्न भूभागमा भएका द्वन्द्वको रिपोर्टिङ गरेका थिए । युक्रेनको पूर्वी भागमा सुरु भएको पछिल्लो विद्रोहमा परी मारिएका उनी नै पहिलो पत्रकार हुन् ।  एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us