जलविद्युतमा स्थानीय जनताको सवा दुई करोड सेयर

काठमाण्डु टुडे २०७१ असार १६ गते ८:३४ मा प्रकाशित

बागलुङ, १६ असार – जिल्लाको तारा गाविसमा निर्माणाधीन ताराखोला सामुदायिक जलविद्युत् आयोजनामा स्थानीय जनताले सवा दुई करोड रुपैयाँको सेयर लगानी गरेका छन् ।

दुई वर्षअघि सुरु भएको ३९४ किलोवाट क्षमताको उक्त आयोजनामा तारा, हिल र अर्गल गाविसका दुई हजार २०० घरधुरीले सेयर राखेका हुन् । प्रतिघरधुरीले रु १५ हजार अनिवार्य रुपमा सेयर लगानी गरेको आयोजनाले जनाएको छ ।

आयोजनामा स्थानीय जनताको सहभागिता र स्वामित्व बढाउन अनिवार्य सेयर राख्ने व्यवस्था गरिएको आयोजनाका अध्यक्ष तीर्थसिंह थापाले बताए । कतिपय घरधुरीले भने स्वेच्छिक रुपमा रु १५ हजारभन्दा बढी रकम सेयर राखेको अध्यक्ष थापाले जानकारी दिए । आगामी डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको यस आयोजनाले तारा र हिल गाविसका सबै र अर्गलका वडा नं ६ लाई मात्र समटेको छ ।

विद्युत् उत्पादन भएपछि आयोजनाले प्राप्त गर्ने लाभ स्थानीय जनतालाई पनि वितरण गरिने अध्यक्ष थापाको भनाइ छ । “दुई हजार २०० घरधुरीले रु दुई करोड २५ लाख सेयर राख्नुभएको छ, यसले आयोजनाप्रति स्थानीय जनताको स्वामित्व पनि सिर्जना गरेको छ”, अध्यक्ष थापाले भने ।

त्यस क्षेत्रका दुई हजार २०० घरधुरीमा विद्युत् सेवा पुग्नाका साथै अन्य विविध काममा समेत विद्युत् उपयोग हुने जनाइएको छ । पछि गएर आयोजनाबाट निस्कने विद्युत् केन्द्रीय प्रसारणमा जोड्न पनि सकिने छ ।

रु १६ करोड भन्दा बढीको लागतमा बन्न लागेको आयोजनाको लागि नेपाल सरकारअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु छ करोड २७ लाख ८० हजार अनुदान सहयोग स्वीकृत गरेको छ ।

बागलुङकै पहाडी हाइड्रोपावर कम्पनीले पनि आयोजनामा रु एक करोड सेयर लगानी गरेको छ । हालसम्म रु पाँच करोड लागतमा मुहान, ९०० मिटरको कुलो, फोरवे, डिस्टेनिङलगायतका सिभिल निर्माणका काम पूरा भइसकेको आयोजनाका इन्जिनियर राजेन्द्र खनालले बताए ।

त्यस्तै, ३०० मुख्य लाइनका पोलहरु पनि गाडिसकिएको छ । सिभिल कामबाहेक बाँकी रहेका मेकानिकलतर्फको कामका लागि टेन्डर आह्वानको प्रक्रिया अघि बढाइएको छ ।

आयोजनाका लागि तारा–८ घप्लेङमा मुहान निर्माण गरी कुलोमार्फत पानी ल्याएर तारा–८ कै धस्मरमा विद्युत् गृह निर्माण गरी विद्युत् निकाल्न लागिएको हो ।

आयोजना सम्पन्न गर्न अझै रु छ करोड रकम आवश्यक पर्ने बताइएको छ । ३९४ किलोवाट क्षमताको यो आयोजना बनेपछि वर्षायाममा ५०० किलोवाटसम्म विद्युत् उत्पादन गर्न सकिने छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us