भारतमा भवन भत्कदा एघारको मृत्यु, अन्य भग्नावशेषमा पुरिए

काठमाण्डु टुडे २०७१ असार १५ गते १२:५२ मा प्रकाशित

नयाँ दिल्ली, १५ असार – भारतको दक्षिणी भागमा अधिक वर्षापछि ११ तले एक आवासीय भवन भत्कदा ११ व्यक्तिको मृत्यु भएको छ भने अन्य उक्त भवनको भग्नावशेषमा पुरिएको आशङ्का गरिएको छ । उद्धारकर्मीहरुले आइतबार उनीहरुको खोजी गरिरहेको जानकारी दिइएको छ ।

उक्त दुर्घटना शनिबार राती भएको हो । सोही दिन राजधानी नयाँ दिल्लीमा एक आवासीय भवन भत्कदा पाँच बालबालिकाका साथमा दश व्यक्तिको मृत्यु भएको थियो ।

तमिल नाडुको केन्द्र चेन्नईबाट २० कलिोमिटर पर आंशिक रुपमा निर्मित उक्त भवन भत्किएको र मर्नेमा प्रायः वर्षाबाट जोगिन उक्त भवनमा ओत लाग्न पुगेका श्रमिकहरु परेको बताइएको छ ।

वरिष्ठ प्रहरी अधिकृत करुणा सागरले भग्नावशेषबाट ११ व्यक्तिको शव निकालिएको र २० व्यक्तिलाई उद्धार गरिएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

प्रहरीले भवन निर्माता तथा इन्जिनियरका साथमा अनेकौँ व्यक्तिलाई हिरासतमा लिएको उनले बताए ।

उनले उक्त भवनमा करिब ५० व्यक्ति ओत लाग्न गएको, त्यसपछि ठूलो आवाज सुनिएको र भवन भत्किएको एक प्रत्यक्षदर्शीले बताएको जानकारी दिए ।
तमिल नाडुका मुख्यमन्त्री जयललिता जयरामले यस घटनामा प्रति मृतकका परिवारलाई दुई लाख रुपैँया र घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने घोषणा गरेकी छिन् । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us