‘केपी ओलीलाई भन्दिएको छु्, बिरामी मान्छे आराम गरेर बस्नुस्’

काठमाण्डु टुडे २०७१ असार १४ गते १६:५५ मा प्रकाशित

महाधिवेशन आउन केही दिनमात्र बाँकी छ, अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ, कस्तो सपना देख्नु हुन्छ ?
madhav 3बहुत राम्रो सपना देखिरहेको छु । यो महाधिवेशनले सही दिशा अवलम्बन गर्नेछ, सही र सक्षम नेतृत्व चयन गर्नेछ । पार्टीलाई सही ट्रयाकमा लानेछ ।
अध्यक्ष जित्छु्जस्तो लागेको छ कि धरमर धरमरको अवस्थामा हुनुहुन्छ ?
पार्टी कार्यकर्ताहरुको सदभाव, माया पाइरहेको अवस्थाले गर्दा जित्छु भन्ने विश्वास छ । तर हाम्रो पार्टी पंक्तिभित्र मात्र होइन, बाहिर पनि मप्रति धेरैको अपेक्षा छ । सबैको सदभाव र न्यानो माया पाएको छु । अधिकांशको शुभकामना मलाई छ । त्यस कारणले पनि चुनाव जितिन्छ भन्नेमा ढुक्क छु ।
तर अर्को पक्षले दाबी गरेको महाधिवेशन प्रतिनिधिहरुको तथ्याङ्क हेर्दा त तपाईंको अवस्था कमजोर देखिएको छ नि ?
अर्को पक्षबाट त्यस्तो कुरा आउनु स्वभाविक हो । आफू हार्छु भन्ने पक्षले त प्रतिस्पर्धामै आउँदैन नि । जित्छौं भनेपछि मात्र आफूसँग भएको पंक्ति साथमा टिकिरहन्छ । मलाई लाग्छ कि आफ्ना मान्छे टिकाइराख्न त्यसो भन्नु अर्को पक्षको बाध्यता होला । अन्यथा बीचैमा साथ छोडिहाल्छन् नि । हाम्रो विचार समूहको स्थिति धेरै नै राम्रो छ
केपी ओली पक्षले त ७५ प्रतिशत प्रतिनिधि आफ्नो भएको दाबी गरेको छ नि ?
तथ्याङ्क खेलाएर बस्नेहरुसँग मेरो भन्नु केही छैन ।
सहमतिमा नयाँ नेतृत्व चयन हुने सम्भावना कत्तिको छ ?
त्यो सम्भावना भइदिएको भए यत्तिको कसरत किन गर्नुपथ्र्यो ?
अध्यक्ष झलनाथ खनालले सहमति भएको अवस्थामा दोश्रो कार्यकाल आफैं नेतृत्व गर्ने इच्छा जाहेर गनुृभएको छ, यसमा के भन्नुहुन्छ ?
अध्यक्ष हुनुको नाताले उहाँको सदभाव अपेक्षा हुनु स्वभाविक हो । पार्टी अध्यक्षले पनि त्यस्तो सदभाव राख्दैन भने कसले राख्ने ?
तर केपी ओली पक्षले एक कार्यकाल फेरि तपाईं नै अध्यक्ष भइदिनुपर्‍यो भनेर झलनाथजीलाई अघि सार्‍यो भने त्यतिबेला तपाईंके गर्नुृहुन्छ ?
यस्तो हाइपोथेटिकल (काल्पनिक) प्रश्नको जवाफ म दिन चाहान्न । अनुमानका आधारमा यस्तो भयो भने के होला भन्ने प्रश्नको जवाफ म दिन्न । माधव नेपाल जे छ त्यसको आधारमा मात्र बोल्ने गर्छ । तपाईंले भनेजस्तो परिस्थिति नै देख्दिन म त ।
ओली पक्षले तपाईंमाथि वरिष्ठ नेता भएर पार्टी एकतामा भाँजो हालेको आरोप लगाइरहेको छ, तपाईंले किन पार्टी एकढिक्का भएको हेर्न नचाहनुभएको ?
माधव नेपालले कहिल्यै एकतामा भाँजो हाल्ने काम गर्दैन । माधव नेपाल एकताको हिमायती हो । सबैलाई समेट्नुृपर्छ भन्ने मान्यताको पक्षपोषक हो । सिंगो पार्टीलाई मिलाएर लैजानुपर्छ भन्ने विचारको प्रवक्ता हुँ ।
अर्को पक्षले तपाईंमाथि सबैभन्दा धेरै आरोप के विषयमा लगाइरहेको छ, थाहा छ ?
तपाईं नै भन्नुस् त के आरोप लागेको छ ।
मिडियाहरुमा आइरहेको छ, सुन्नुभएकै होला नि ?
राजनीति गर्ने मान्छेमाथि आरोप लाग्छ । ममाथि पनि धेरै लागेको होला । तर ती वैचारिक राजनीतिक चरित्रको आलोचना हुनुपर्‍यो । तपाईंले चाहनु भएको जवाफ के हो भन्नुस न ।
तपाईं १५ वर्षभन्दा बढी समय पार्टीको प्रमुख कार्यकारी पदमा बसेर फेरि नेतृत्वमा जाने जुन लालसा देखाइरहनुभएको छ, यसले तपाईंमा पदप्रतिको आशक्ति देखाएको, दुई कार्यकालभन्दा बढी मुख्य नेतृत्वमा बस्न नपाउने विधानको व्यवस्थालाई मिचेको आरोप लागेको छ ?
विधानले आठौं महाधिवेशनबाट नेतृत्वको सन्दर्भमा नयाँ व्यवस्था गरेको हो । यो कुरा सारा संसारलाई थाहा छ । कुनै पनि विधान वा संविधान पश्चगामी हुँदैन । त्यो अग्रगामी हुन्छ । पछिल्लो अवधिमा भएको कुरालाई जोडेर दुई कार्यकाल भन्न मिल्छ ? त्यसो हुने हो भने त एकपटक सजाय पाएका सबैले फेरि सजाय पाउनुपर्छ भने भइहाल्यो नि । विधानमै स्पष्ट रुपमा भनिएको छ, कि विधान पारित भएको मितिदेखि लागू हुनेछ । यस्तो स्पष्ट कुरालाई पनि तोडमरोड गरेर झुठ प्रचार गर्ने काम भएको छ । फेरि त्यस्तो कुरा भन्नेहरुले त आफूले पनि अवधिको पालना गरे हुन्थ्यो नि ? १५/२० वर्षदेखि जनसंगठनको अध्यक्ष पद ओगटेर बस्नेहरुले, आफू प्रमुख भएको स्थानमा एकलौटी चलाउनेहरुले कुन नैतिकताले प्रश्न खडा गरेका होलान् ? यो कुरा उहाँहरुलाई सोध्नुस् न ।
शक्तिशाली महासचिव भएर तीन कार्यकाल पार्टी चलाएको व्यक्तिले म अध्यक्ष भएको छैन, महासचिव भएको भन्ने तर्क गर्न मिल्छ ? आखिर त्यतिखेर तपाईंहरुको पार्टीमा महासचिव प्रमुख हुने व्यवस्था थियो, अहिले अध्यक्ष हुन्छ । आखिर तपाईं पार्टीको प्रमुख पदमा त बस्नु भएकै हो नि ?
त्यो बेलामा महासचिव अहिलेको अध्यक्षजस्तो शक्तिशाली हुने थिएन । म केन्द्रीय कमिटीले चुनेको महासचिव थिएँ । केन्द्रीय कमिटीको बहुमतले जतिखेर पनि फाल्न सक्थ्यो । अहिलेको अध्यक्ष र महासचिवलाई केन्द्रीय कमिटीको बहुमतले फाल्न सक्दैन ।
म पार्टी प्रमुख भएकै थिइन, अध्यक्ष होइन, महासचिव थिएँ भन्नुहुन्छ नि तपाईं, यो भन्न मिल्छ त ?
हो नि त । प्रधानमन्त्री भएको मान्छे फेरि राष्ट्रपति हुँदैन । मदन भण्डारी महासचिव हुँदाखेरि मनमोहनजीको ठाउँमा उहाँ बस्न सक्नुहुन्नथ्यो ? मेरो प्रश्नको सीधा जवाफ अरुले देओस् न । मनमोहन अधिकारी बसेको ठाउँमा मदन भण्डारी फेरि अध्यक्ष बन्न पाउनुहुन्नथ्यो त ? किनभने त्यो बेलाको अध्यक्ष र महासचिवलाई जुन अधिकार दिइएको थियो, अहिलेको महासचिव र अध्यक्षलाई त्यही अधिकार दिइएइको छ, त्योभन्दा भिन्न छैन ।
पार्टीको मुख्य पदमा बसेर १५ वर्षसम्म नेतृत्व गर्नुभयो, अब के गर्न बाँकी छ जस्तो लाग्छ र फेरि चाहिएको ?
मेरो नेतृत्वमा रहेको एमालेले मुलुकको राजनीतिक क्रान्तिको नेतृत्व गर्‍यो । राजनीतिक क्रान्ति त सम्पन्न भयो, अब यो पार्टीका काँधमा आर्थिक क्रान्तिको अभिभारा आएको छ । नेकपा एमालेलाई यो अभिभारालाई कुशलतापूर्वक पूरा गर्न सक्ने खुबी भएको नेता चाहिएको छ, रहर गर्ने नेता होइन । काम गर्ने नेता चाहिएको छ, गफ गर्ने नेता होइन । यो कुराको मूल्याङ्कन पार्टी कार्यकर्ताले गर्ने हो ।
ओली पक्षले तपाइँलाई राष्ट्रपति बन्न प्रस्ताव गरेको छ, राष्ट्रपति पद लिएर अध्यक्ष ओलीलाई दिए हुँदैन ?
मेरो शरीर राष्ट्रपति बन्नका लागि फिट भइसकको छैन ।
७० वर्षको उमेर कटेपछि राष्ट्रपति बन्छु भन्नुभएको रहेछ होइन ?
किनभने म गतिशील मान्छे हुँ । म डाइनामिक मान्छे हुँ, गतिशीलतामा विश्वास गर्छु । म कामकाजी मान्छे हुँ । कामकाजमा विश्वास गर्छु । म परिणाममुखी मान्छे हुँ । म परिणाममा विश्वास गर्छु । म गफगाफमा समय बर्बाद गरेर बस्ने मान्छे होइन । राष्ट्रपतिजस्तो सम्माजनजनक स्थानमा राख्न हाम्रो पार्टीमा धेरै नेताहरु हुनुहुन्छ ।
केपी ओलीमाथि डनवाद, धनवाद, गनवादको संरक्षक भएको आरोप लगाउनुभएको छ, तपाईं पनि त्यही पार्टीको वरिष्ठ नेता हुनुहुन्छ, त्यसको हिस्सा त तपाईंको भागमा पनि पर्छ होला नि ?
मैले केपी ओलीको नाम किटेर कहाँ त्यसो भनेको छ ? मैले त हाम्रो पार्टीभित्र यी प्रवृत्तिहरु विद्यमान छन् । यो प्रवृत्तिका विरुद्धमा जुध्नुपर्छ भनेको हुँ  । हाम्रो पार्टीमा डनवादी प्रवृत्ति छ, धनवादी प्रवृत्ति छ, गनवादी प्रवृत्ति छ । जँड्याहा प्रवृत्ति छ । मैले यसो भन्दा किन कसैलाई पोल्छ ? चोरको खुट्टा काटभन्दा किन खुट्टा उचाल्नुपर्‍यो ? पार्टीमा गलत प्रवृत्ति छ । यसको बारेमा जनता र कार्यकताई भन्नैपर्छ ।
तर उहाँहरुले त पार्टीमा युवाहरुलाई ल्याउन खोज्दा डनवादको आरोप लगाउनेहरुले पार्टीलाई वृद्धाश्रम बनाउन खोजेको भन्ने टिप्पणी गर्नुभएको छ, के भन्नुहुन्छ ?
एमालेमा एक सय एक युवा छन् । सिद्धान्तनिष्ठ युवाहरु छन् । अराजक होइन, अराजनीतिक होइन । सिद्धान्तनिष्ठ युवाहरुको पंक्ति सधैं मसँग छ । मैले पटकपटक युवा, युृवा युवा भन्दै आएको छु । ०३६ सालको पुस्तालाई नेतृत्वमा ल्याऔं भनिरहेको छु । मेरो टिममा त सबै युवा मात्रै छन् । बरु वृद्धाश्रम कहाँ छ भनेर खोजे भयो नि ।
प्रधानमन्त्री उपचारका लागि अमेरिका जानुअघि पार्टी महाधिवेशनमा ओली पक्षले राज्य शक्तिको दुरुपयोग हुँदैछ । त्यसलाई रोक्नुस भन्नुभएछ, के आधारमा त्यसो भन्नुभएको ?
मैले ‘पब्लिक्ली’ भनिरहेको छु कि महाधिवेशनमा सत्ताको दुरुपयोग नहोस् । पैसा र बाहुबलको प्रयोग नहोस् । बाहुबलको आडमा कसैको राजनीतिक भविष्य सिध्याइदिन्छु भनेर धक्क्याउने काम नहोस् । मैले जहाँ पनि यो कुरा भन्ने गरेको छु । त्यस्ता गलत प्रवृत्तिको विरुद्धमा जुधिरहने छु ।
राज्य शक्तिको दुरुपयोग भएको कुनै आधार भएर कि आशंकामा आधारमा मात्र भन्नुभएको हो ?
सेती अञ्चल सम्पर्क मञ्चको अधिवेशनमा त्यहाँका पुलिसले गरेका ताण्डव नृत्यका बारेमा त सुन्नुभएकै होला नि ? पार्टीको महाधिवेशनमा गलत भूमिका खेल्न प्रहरी पठाउन हुन्छ ?
गृहमन्त्रीलाई यो बारेमा भन्नुभएन ?
धेरैपटक भनिसेकेको छु मैले । राज्य शक्तिको दुरुपयोग गर्ने काम नहोस् भनेर । तर रोकिएको छैन । रोकिने छाँट पनि छैन । महाधिवेशनमा राज्य शक्तिको दुरुपयोग गरियो भने यो सरकार ढल्छ ।
कार्यबाहक प्रधानमन्त्री बामदेव गौतमले प्रधानमन्त्रीको अनुमतिमा मन्त्रिपरिषदबाट १६ सभासदको मनोनित गर्छु, दलहरुसँग नाम पनि मागिसकेको छु भन्नुभएको छ, के त्यो सम्भव छ त ?
खै उहाँले कोसँग माग्नु भयो ? हाम्रो पार्टीसँग माग गरेको कुरा मलाई जानकारी छैन । मलाई अहिलेसम्म पार्टी अध्यक्षले यो कुरा गर्नुभएको छैन । पार्टीको स्थायी कमिटीको बैठक बसेकै छैन । त्यो कसैको चाहनाको पक्ष होला । त्यसका निम्ति छलफल भएर पार्टीले निर्णय गर्नुपर्छ । अन्यथा कसैलाई मन लागेको छ भन्दैमा ती कुराहरु हुन सक्दैन ।
सरकारका कामकारबाहीबारे असन्तुष्ट देखिनुहुन्छ, मन्त्रीहरु सबै अर्को पक्षका भएर कि किन ?
अहिले यो असन्तुष्टि पोख्ने बेला होइन । किन भने प्रधानमन्त्री अस्वस्थ भएर उपचारका लागि अमेरिका जानुभएको छ । मानवीय हिसाबले पनि असन्तुष्टि पोख्ने यो उपयुक्त समय होइन ।
तपाईंको विचार समूहका पक्षका नेताहरुले बिरामी व्यक्तिले पार्टीको नेतृत् वगर्न सक्दैन भनेर केपी ओलीमाथि टिप्पणी गरेको सुनिन्छ, तपाईं पनि त बिरामी परेर अस्पताल भर्ना हुनुभएकै हो । स्वास्थ्यजस्तो कुरामा पनि राजनीतिक गर्न मिल्छ र ?
अरुले के भने मलाई थाहा छैन । बिरामी भएको विषयमा त मैले केही चर्चा गरेकै छैन । मैले यति भनेको हुँ कि अस्पतालमा बैठक बस्ने सिस्टम नबसालौं । बिरामीलाई बैठकमा घिसार्ने काम नगरौं । थप तनाब नदिऔं, बरु उहाँको स्वास्थ्यलाभको कामना गरौं । उहाँको स्वास्थ्य अवस्था बुझ्न म नेपालमै पनि अस्पताल गएँ, निवासमै गएँ, इण्डियासम्म पुगें । अहिले पनि अरु सबै चक्कर छाडेर आराम गरेर बस्नुस भनेको छु मैले ।
पार्टी अध्यक्षका लागि अग्रसर हुनुभन्दा आराम गरेर घरै बसेको राम्रो ?
हो नि, चिकित्सकले नै उहाँलाई आराम गर्नु भनेका छन् । मैले पनि त्यही भनेको हो । कुनै अमानवीय कुरा त गरेको छैन । बिरामीलाई आराम गरेर बस्नुस भनको कुरालाई कसरी असम्वेदनशील भएको भन्न मिल्छ ? राम्रो कुरा गर्दा अन्यथा सोचिन्छ भने ठीकै छ ।
आराम गरेर त बिरामीको स्वास्थ्यलाभ हुन्छ नि ।
तपाईंले मानवीय हिसाबले बिरामीलाई असर पर्ने भएका कारण अस्पतालमा बैठक नगरौं भन्नुभएको कि, पार्टीको पद्धति कमजोर हुन्छ भनेर ?
तीनवटा कुरा हो । बिरामीको कारणले पनि हो । अस्पतालको संवेदनशीलता र मर्यादाका कारणले हो । अर्को परम्पराको हिसाबले पनि हो ।
महाधिवेशन प्रतिनिधि केपी ओली र तपाईंको बराबरजस्तै छन् रे, यसमा अध्यक्ष झलनाथ खनालको भूमिका निर्णायक हुने देखियो, खनालको सहयोग तपाईंलाई हुन्छ कि ओलीलाई ?
अध्यक्षले त सबैलाई समेटेर, मिलाएर लैजानुपर्‍यो । अध्यक्ष सिंगो पार्टीलाई केन्द्रबिन्दुमा राखेर अघि बढिरहनुभएको छ ।
तर प्रवृत्तिको कुरा गर्दा अध्यक्ष तपाईंसँग नजिक कि, ओलीसँग ?
विचार–प्रवृत्तिका हिसाबले अध्यक्ष हामीसँगै हुनुहुन्छ । जुन विचार समूहका आधारमा हामी अगाडि बढिरहेका छौं । त्यो विचारको नेतृत्व उहाँले नै गर्नुभएको छ ।
त्यही भएर उहाँका टिमका नेताहरु पनि तपाईंसँगै हुनुहुन्छ ?
त्यसरी को–को हुनुहुन्छ भनेर त नभनौं । तर पार्टीको युवा पुस्ता र विभिन्न प्रतिभाहरु मसँगै छ ।
महाधिवेशन आउन केही दिनमात्र बाँकी छ, किन प्यानल घोषणा गर्न ढिलाइ गर्नुभएको ?
पहिला उहाँहरु (केपी ओलीपक्ष ) ले घोषणा गर्नुहोला । पहिला त विधान आउनुपर्‍यो, विधानमा कस्तो किसिमको पदीय व्यवस्था हुन्छ । त्यसपछि हामी जाऔंला ।
अहिले पाँचवटा माओवादी धारका दलहरुबीच कार्यगत एकता भएको छ, तपाईं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभयो भने बाम एकताका लागि के भूमिका खेल्नुहुन्छ ?
हामी सबै बामपन्थीहरुसँग कुराकानी गर्छौंं । विचारमा हामी छलफल चलाउँछौं । कयौं विषयमा एकरुप धारणा बनाउन कोसिस गर्छौं । सबैलाई हामी लोकतान्त्रिक धारमा लिएर जाने प्रयास गर्छौं । हामी हाम्रो तर्फबाट अरु पार्टीको वैचारिक रुपान्तरणका निम्ति प्रयास गर्छौं । र मिल्न सकिने कुरामा सहकार्य गर्दै जान्छौं ।
आठौं महाधिवेशनमा त तपाईं केपी ओलीको समर्थनमै हुनुहुन्थ्यो नि ?
कसले भन्यो ? आठौं महाधिवेशनमा म आफैं अध्यक्षको उम्मेदवार थिएँ । त्यतिबेला मैले मञ्चबाटै घोषणा गरेको थिएँ, नेतृत्व लिन तयार छु भनेर । १३ सय प्रतिनिधिले  हस्ताक्षर नै गरेर मप्रति सदभाव देखाउनुभएको थियो । मैले मलाई स्वीकार गर्नुस् भनें, तर दुवै पक्षले नमानेका कारण ब्याक भएँ ।
चुनावमा पार्टी हारको नैतिक जिम्मेवारी लिएर जसरी महासचिव पदबाट राजीनामा दिनुभयो  । त्यसले तपाईंको राजनीतिक उचाइ बढाएको थियो, तर अहिले लोभ गरेर त्यो उचाइ घटाएको जस्तो लाग्दैन ?
कसले त्यसो भन्छ ? चुनौतीको सामना गर्न माधव नेपाल फेरि आयो भन्छन् । जहाँजहाँ चुनौती छ, त्यहाँ माधव नेपाल समाधान बनेर आउने गरेको छ । जहाँजहाँ मुलुकलाई अगाडि बढाउन अप्ठेरो पर्छ त्यतिबेला माधव नेपाल चाहिन्छ । चुनौतीबाट कहिल्यै डराउँदैन माधव नेपाल । राजतन्त्र ढाल्ने चुनौती होस., राजनीतिक क्रान्ति सम्पन्न गर्ने चुनौती होस्, आर्थिक क्रान्तिको अभिभारा होस् । मुलुक हाँक्ने अभिभारा होस् । अप्ठेरो बेलामा ऊ हुन्छ, ऊ पदका निम्ति मरिहत्तै गर्दैन । तर जिम्मेवारीबाट भाग्दैन । दायित्व बहन गर्नबाट पछि हट्दैन । अगाडि खुट्टा बढाइसकेपछि खुट्टा कमाउने काम गर्दैन । माधव नेपाल अविश्वासिलो छैन । धोका दिँदैन । ऊ सतीसालको रुख झैं दृढतापूर्वक उभिन्छ । ऊ मुल्य  मान्यता र निष्ठाको  राजनीति गर्दछ । नैतिकताको पक्षमा उभिन्छ । देशभक्तिको भावना राख्दछ । लोकतान्त्रिक आचरण अंगीकार गर्दछ र परिवर्तनको संवाहक हो । परिवर्तनको दृढ पक्षपाती हो । सामाजिक आर्थिक रुपान्तरण हुनुपर्छ भन्ने मान्यताको पक्षमा छ । यसरी बुझ्दछन् माधव नेपाललाई मानिसहरुले ।
एउटा टेलिभिजन कार्यक्रममा केपी ओलीले तपाईंमाथि ज्ञानेन्द्रलाई दाम चढाउनेको भर नहुने आरोप लगाउनुभएको थियो, के भन्नुहुन्छ ?
त्यतिबेला दाम चढाएको विषयमा सबैभन्दा उच्च प्रशंसा गर्ने उहाँ नै हो । त्यतिखेरै चलनै त्यस्तो थियो त के भिन्न गर्ने ? केपी ओलीले व्याख्या पनि गर्नुभएको थियो । मन्दिरमा जाँदा दुई हात जोडेर ढोग्नुपर्छ । मस्जिदमा जाँदा घुँडा टेकेर ढोग्नुपर्छ । जहाँ गयो त्यस्तै चलनअनुसार हिंड्नुपर्छ भन्ने उहाँ नै हो ।
राजतन्त्र गइसक्यो, तर दाम चढाएको कुराले तपाईंलाई कहिल्यै छाडेन है ?
जहाँ जस्तो चलन छ त्यही हुने हो । ठकुरीहरुको चलनै त्यस्तै छ, के गर्ने त ? पीडा बोकेर भएन ? कहीं एउटा हातले सलाम गर्नुपर्छ । जापानमा झन् निहुरिएर गर्नुपर्छ । किनभने चलनै त्यही छ । किन निहुरिइस् भन्न मिल्न ?
अन्तिममा, धक फुकाएर भन्न पाए हुन्थ्यो भन्ने केही लागेको छ ?
मैले सबै कुरा धक फुकाएर भनिसकें । यो देशलाई अघि बढाउने हो । समाजलाई रुपान्तरण गर्ने हो । जनतालाई सुखी जीवनको प्रत्याभूति गराउने हो । देशलाई समृद्धि दिने हो । त्यसैका लागि पार्टीको आवश्यकता पर्ने हो । यो पार्टी जनताको माझमा प्यारो र लोकप्रिय पार्टी बन्नुपर्छ । यो अनुशासित, सिद्धान्तनिष्ठ, देशभक्त र परिवर्तनको संवाहक पार्टीका रुपमा यो पार्टीले आफ्नो पहिचानलाई स्थापित गर्नुपर्छ ।

प्रस्तुति: दयानिधि भट्ट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us