
काठमाण्डु, १४ असार– हस्तवहादुर परियार र तिलसरा वलीको विवाह भएको ८ वर्ष भयो । धधबार–६ ढकेला बस्ने हस्तवहादुर र तिलसराले ०६२ सालमा प्रेम विवाह गरेका हुन् । बिहे गरेपछि तिलसरा माइती गएकी छैनन् ।
तल्लो जातसँग बिहे गरेको भन्दै उनलाई माइतीले छेकबार लगाएका हुन् ।
उनीहरु अझै पनि अन्तरजातीय विवाह गरेकै कारण अपहेलित भएका छन् । आजको नयाँ पत्रिका दैनिकका अनुसार हस्तवहादुरले भने,’सुरुमा त गाउँमा बस्न नै गाह्रो भयो, छरछिमेकले बोलचाल गर्न छाडे तर विस्तारै बसोबास भने सहज भयो तर अपहेलना भइराखेकै छ ।’
विवाहपश्चात तिलसराको माइती पक्षले उनलाई श्रीमानसँग छुटाएर फर्काउने प्रयास गरेको थियो । तिलसरालाई फर्काउनकै लागि हस्तवहादुरमाथि पटक पटक आक्रमणसमेत भयो । तर उनीहरुको प्रेम नटुटेपछि माइतीले तिलसराका लागि ढोका नै बन्द गरिदिए । उनीहरुका दुई सन्तान पनि भइसकेका छन् । तर बालबालिकाको पनि मावली आउने, जाने र बोलचाल छैन । ‘बुबा आमाले माइ०त जान दिएका छैनन, तिलसराले आँसु पुछ्दै भनिन्,’यी केटाकेटीको के गल्ती थियो र ? उनीहरुले पनि मावली जान पाएका छैनन् । ‘
माइतीले हेला गरे पनि घरपरिवारबाट भने माया पाएको उनले बताइन् । गैरदलितकी छोरी बिहे गर्दा आफू पनि आफन्त र छरछिमेकबाट टाढा हुनु लपरेको हस्तबहादुरको भनाई छ । ‘२१ औँ शताब्दीमा पनि मान्छे भएर पशुको व्यवहार किन गरिन्छ ? ‘ उनले भने,’हामीलाई त पशुजस्तै गरे ।’